![म्याद थपका लागि आलमलाई अदालतमा पेश, यसरी लगियो अदालत [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Aftab_Alam_5_MuDmKBzCUA.jpg)
रौतहट – चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।
जिल्ला अदालत रौतहटले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लागि आइतवार अदालतमा पेश गरिएको हो । कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन ।
आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।
२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् ।
आलमसँग जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी पनि छ ।
आलमले बिरामी भएको बहानामा बयान दिन आनाकानी गर्दै आएका छन् । आलम सुगर र प्रेसरका बिरामी छन् ।
आलमका वकिल आफ्ताब आलम (नाम एकै) ले बयान दिने विषयमा आज आफूले आलमसँग कुरा गरेको लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार अदालतमा आलमको पक्षबाट २७ जना वकिलले बहस गर्ने तयारी गरेका छन् ।
आलमलाई म्याद थपपछि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने तयारी छ ।
बयानका लागि आफूहरू तयारी अवस्थामा रहेको जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका सहायक जिल्ला न्याधिवक्ता रामप्रसाद पन्थीले बताए ।
मन्त्रीसमेत भइसकेका आलमले सत्ता, शक्ति र पैसाको आडमा अहिलेसम्म उन्मुक्ति पाउँदै आएको आरोप पीडितको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।



