०२ साउन २०८३, शनिबार

दशैं बिदामा गएका कर्मचारी नफर्किँदा अझै खुलेन छोटी भन्सार

कात्तिक ३, २०७६
दशैं बिदामा गएका कर्मचारी नफर्किँदा अझै खुलेन छोटी भन्सार

फिक्कल– दशैंअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन ।

बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैं बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैं अगाडिदेखि नै बन्द छ ।

कार्यालयदेखि नजिकै घर भएका एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका कर्मचारी दशैंको घटस्थापना अघिसम्म कार्यालयमा नै भए पनि त्यसयता उनलाई पनि नदेखेको र कार्यालय पनि नखुलेको बताइएको छ । दशैंपछि सार्वजनिक विदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा कोही आएका छैनन् । 

सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायले अहिले चासो देखाएको छैन । यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजश्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ ।

पशुपतिनगर भन्सार कार्यालयको मातहतमा रहने छोटी भन्सार कार्यालय प्रायः नखुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

पशुपतिनगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले दशैंपछि कार्यालय नखुलेको आफूलाई जानकारी नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्