
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।
उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ । यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका अनुयायी तथा सर्वसाधारणले दिएका छन् ।
म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण (असोज २९ देखि कात्तिक ३)ले दुवै देशका सरकार र नागरिकस्तरमा समेत विशेष चर्चा र उच्च महŒव पाएको छ । नेपाली राष्ट्राध्यक्षको चार दशकपछि भएको यो राजकीय भ्रमणले नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को मारेको विश्वास गरिएको छ ।
म्यानमारको नयाँ राजधानी नेपितो नेपालका राष्ट्रपतिको स्वागतमा पूरै सिँगारिएको थियो । सडकका चोकचोकमा फहराइएका नेपालका झन्डा र पानीका आकर्षक फाउन्टेन देखेर स्थानीय बुद्धको भूमिबाट म्यानमारमा भ्रमण गरिरहनुभएका नेपालका राष्ट्रपतिको विशेष महत्व राख्दै चासो अभिव्यक्त गरिरहेका थिए ।
म्यानमारका राष्ट्रपतिको भवनमा गरिएको राष्ट्रपति भण्डारीको भव्य स्वागत र ओजपूर्ण सम्मानगारत निरीक्षणलाई म्यानमारका सञ्चारमाध्यमहरूले महŒवका साथ प्रकाशन र प्रसारण गरिरहे । गोरखापत्रमा खबर छ ।