२१ जेठ २०८३, बिहीबार

डोजर 'इन्जिनियर'को आतंक

कात्तिक ६, २०७६
डोजर 'इन्जिनियर'को आतंक
फाइल तस्वीर

काठमाडौं –सोमबार मध्याह्न १२ बज्दै थियो । स्थानीय केशवदत्त जोशी डोजर लिएर दशरथ चन्द नगरपालिका–९, ग्वाल्ले गाउँमा आइपुगे । यो ठाउँमा सडक बनाउन संघीय, प्रदेश वा स्थानीय तह कसैको पनि योजना थिएन । तर, जोशीको डोजरले काम पाइरहेको थिएन । त्यसैले उनले आफ्नै गाउँमा डोजर लिएर गए । साथमा थिए चालक किशोर बोहरा । 

केशव स्थानीय सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष हुन् । तर, सो क्षेत्रमा सडक खन्ने विषयमा गाउँलेहरूबीचमा सहमति हुन सकेको थिएन । त्यसैले नयाँ समिति बनेको थियो । तर, पनि सडक खन्ने विषयमा सहमति जुटिसकेको थिएन । स्थानीय दशरथ चन्द नगरपालिकाले पनि यसका लागि कुनै बजेट छुट्याएको थिएन । स्थानीय जनप्रतिनिधिलाई अहिले बाटो खन्दै गर्छु, पैसा पछि मिलाउँला भनेर सहमति गरेको उनको भनाइ छ । तैपनि मेयर र उपमेयरले यस्तो वचन दिएको स्विकारेका छैनन् । 

गाउँमा अचानक डोजर आएर बारी खन्न थालेपछि कोकोहोलो मच्चियो । स्थानीय बासिन्दाले अहिले सडक नखन्न अनुरोध गर्न थाले । विवाद बढ्दै गयो । त्यहीबीचमा अपरेटरले डोजर स्टार्ट गरे । विरोधस्वरूप स्थानीय बासिन्दा डोजरको अगाडि उभिए । यसो गर्दा डोजर रोकिन्छ भन्ने उनीहरूको आशा थियो । तर, अपरेटरले मान्छेमाथि नै डोजर चलाए । पहिले समूहलाई नै डोजरले सोहोरे । उठेर आफूलाई सम्हाल्न खोजिरहेका गाउँलेलाई बकेटले हिर्काउन थाले । 

बकेटले लागेर स्थानीय गौरा जोशी बल्ड्याङ मार्दै दुई कान्ला तल खसिन् । उनको पिठ्युँमा चोट लागेको छ । गौरालाई उठाउन सुरेन्द्रप्रसाद जोशी हतार–हतार त्यता गए । उनी पनि घाइते भए । यसरी आठजनालाई घाइते बनाएपछि मात्र डोजर अपरेटर चुप लागे । 

गौरालाई धनगढी हुँदै अहिले नेपालगन्ज ल्याइएको छ । ‘डोजरले फाल्दा रिँगटा लागेझैँ भयो । कतिखेर बेहोस भएछु पत्तै पाइनँ,’ नेपालगन्ज मेडिकल कलेजमा गौराले भनिन्, ‘ढाडमा चोट लागेको छ, अहिले औषधि खाँदै छु ।’

त्यहाँ सडक खन्ने विषयमा भएको विवाद नगरपालिकासम्म पुगेको थियो । नगरपालिकाकी उपमेयर मीना चन्दले तिहारपछि अनुगमन गरेर उपयुक्त ठाउँबाट सडक खन्ने सहमति भएको बताइन् । ‘सडक खन्ने क्रममा एकथरी जग्गा नदिने अडानमा थिए भने अर्कोथरी खन्नैपर्ने जोडमा थिए । २८ असोजमा उहाँहरू नगरपालिकामै आउनुभएको थियो । जग्गाधनी र अहिले डोजर चलाउने दुवै पक्ष आउनुभएको थियो । उहाँहरूसँग अहिले तिहारको वेला छ, तिहारपछि अनुगमन गरेर कुन ठाउँबाट कसरी बाटो लैजाने निर्णय गरौँला भनेका थियौँ,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेयले पनि विवाद नटुंग्याई सडक नखन्न प्रहरीले दिएको सुझाबविपरीत डोजर चलाइएको बताए । ‘सडकमा जग्गा पर्नेहरूले असन्तुष्टि जनाएका थिए । विवादपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा आएर उहाँहरूले पटक–पटक छलफल गर्नुभएको थियो । त्यो छलफलमा म पनि गएको थिएँ । विवाद नटुंग्याई सडक नखन्न हाम्रो सुझाब थियो । नगरपालिकाले पनि अहिले नखनौँ भनेको थियो । केही दिनदेखि हामीले नै सडक खन्न रोकिदिएका थियौँ । तर, उपभोक्ता समितिले अकस्मात् डोजर चलाएछ,’ डिएसपी पाण्डेयले भने । 

उनका अनुसार डोजरचालक दशरथचन्द नगरपालिका–२ देहीमाडौका किशोर बोहरा पक्राउ परेका छन् । बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए । दुवै पक्षका अन्य तीनजनालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको उनको भनाइ छ । तर, जबरजस्ती डोजर परिचालन गर्ने केशवदत्त जोशी अहिलेसम्म पक्राउ परेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्