
बनेपा – जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट बस चढ्ने सुविधा पाएका हुन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बिपी राजमार्गस्थित चौकीडाँडा हुँदै सिसाखानी–सिपाली–बूढाखानी–फोक्सिङटार–मसानेभञ्ज्याङ–देवीटार–घर्तिछाप हुँदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक यात्रुबाहक बस पुगेको छ ।
यसअघि सो बाटो भएर फोक्सिङटारको सानो पोखरासम्म पुगेको भएपनि नियमित रुपमा बुढाखानीको महादेवटारसम्म मात्रै बस पुगेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपालिकाको रामपुर हुँदै बनखु घर्तिछापसम्म हिमाल तराई यातायातको बस पुगेकामा अब जिल्लाभित्रैबाट डाँडापारिको गोकुलेधापसम्म यात्रुबाहक बस पुर्याउन सफल भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए।
'पहिला आफ्नै गाउँपालिका डाँडापारि जानका लागि छिमेकी जिल्ला सिन्धुली घुमेर जानुपर्ने बाध्यता थियो, गाउँपालिकाको पहलमा अब आफ्नै जिल्लाबाट नै डाँडापारि जान सक्ने भएको छ,' जिम्बाले भने, 'यसरी जाँदा छिटो मात्रै नभएर भाडा पनि रु २०० सस्तो भएको छ ।'
यसअघि हिमाल तराई यातायातले सिन्धुली हुँदै घुमेर जानुपर्नेमा बनेपादेखि गोकुलेसम्म रु ७८० दिने गरेकामा अब काभ्रे बस प्रालिले रु ५८० मा सेवा पुर्याएको छ ।
तीन दिनअघि फोक्सिङटारको खानीटार पुगेर गाउँपालिका अध्यक्ष जिम्बा र काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले संयुक्तरूपमा मोटरबाटोको उद्घाटन गरेका थिए । सो क्रममा गोकुलेको धाप मैनडाँडासम्म नियमितरूपमा बस सञ्चालन गर्ने र तोकिएको भाडादर लिने विषयमा सम्झौतासमेत भएको थियो ।
बनेपाबाट धापसम्म दैनिक दुई बस सञ्चालन हुने भएका छन् । बनेपादेखि धापसम्म ७८ किलोमिटर छ ।