२१ जेठ २०८३, बिहीबार

कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग

कात्तिक ७, २०७६
कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग

काठमाडौं – नेपाली सैनिकले पक्राउ गरेपछि कुकुर लगाएर आफूमाथि बलात्कार गराएको भन्ने पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

मानवअधिकार आयुक्त गोविन्द शर्मा पौडेलले यस किसिमको अपराध सोच्न पनि नसकिने उल्लेख गर्दै घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । ‘यो जघन्य अपराध हो,’ उनले भने, ‘वर्षौंपछि बाहिर आएको भए पनि पीडितको भोगाइलाई पहिलेको कुरा भनेर बिर्सन मिल्दैन ।’

पीडितको उक्त खुलासाले सशस्त्र द्वन्द्वकालमा सेनाले युद्धबन्दीलाई यातना दिन पाशविक बलात्कारको प्रणालीबद्ध अभ्यास गर्थ्यो भन्ने सुराक मिलेकाले सत्यतथ्य पत्ता लगाउन जरुरी भएको पौडेलले बताए । ‘आयोगले यस सम्बन्धमा थप निर्णय छिट्टै गर्छ,’ उनले भने, ‘पीडितको बयानलाई राज्यले गम्भीरताका साथ लिएर खोजबिन गर्नुपर्छ । यस्ता घटना भएको पुष्टि भए संलग्न कसैलाई पनि छुट दिन मिल्दैन ।’

पीडितको बयान पढ्दा आफूले आँसु थाम्न नसकेको पौडेलले बताए । ‘बुद्ध जन्मेको देशमा यस्तो घटना कसरी भयो होला भनेर म रोएँ,’ आयुक्त पौडेलले भने, ‘१८ वर्षकी ती युवतीलाई कुकुर लगाएर बलात्कार गराइएको हो त्यो अत्यन्त निन्दनीय छ ।’

द्वन्द्वपीडित साझा चौतारीले सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाबाट पीडित भएका मानिसको ‘सत्यको बयान’ लिने क्रममा सोमबार दाङको घोराहीमा ती युवतीले आफू २०५८ मंसिरमा सैनिकबाट पक्राउ परेपछि बर्दियाको जंगलछेउको खेतमा निर्वस्त्र पारेर दुई कुकुरबाट बलात्कार गराइएको बताएकी थिइन् । लाज, डर र संकोचले लामो समय मुख खोल्न नसकेको र पीडा असह्य हुँदै गएपछि गोपनीयता कायम राख्ने सर्तमा बोल्न तयार भएको ती युवतीले बताएकी छन् । अरू युवती पनि यस्तै सिकारमा परेको तर कसैले पनि मुख खोल्ने आँट नगरेको उल्लेख गर्दै उनले ‘नेपालका महिलामाथि के भएको थियो संसारले जानोस्’ भनेर आफूले भने मुख खोलेको बताएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्