१३ असार २०८३, शनिबार

एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिनुस्

कात्तिक ७, २०७६
एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिनुस्

काठमाडौं –कीटाणु र ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट बच्न एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ, यसले ब्याक्टेरियालाई मार्ने काम गर्छ । एन्टिबायोटिक औषधि एक सयभन्दा बढी किसिमका हुन्छन्, तर संक्रमण रोक्न थोरै किसिमका यस्ता औषधि मात्र प्रयोगमा ल्याइन्छन् ।

घाँटीको संक्रमण, निमोनिया, पिसाबमा संक्रमण, पेटमा संक्रमणले हुने विभिन्न समस्याको निवारणमा यस्ता औषधि प्रयोग गरिन्छन् ।  संक्रमणको किसिम, अवस्था आदि विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोगमा ल्याइन्छ । अर्थात् बिरामीको जाँच गरेर मात्र औषधि दिइन्छ । 

के हो एन्टिबायोटिक रेसिस्टेन्स ?

पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ, यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ । नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ । 

कारण

शरीरमा एन्टिबायोटिकले काम गर्न छाड्नुको मुख्य कारण यसको जथाभावी प्रयोग नै हो । शरीरमा एन्टिबायोटिक आवश्यक नभएको अवस्थामा पनि यसको प्रयोग गर्दा क्षमता स्वतः घट्दै जाने गर्छ । जस्तो भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी सामान्यतया ३ दिनमा आफैँ निको हुने गर्छ, तर यसका लागि समेत एन्टिबायोटिकको प्रयोग गर्ने गरिन्छ । एन्टिबायोटिकको प्रयोग चाहिनेभन्दा बढी मात्रामा प्रयोग हुँदा समेत यसको असर घट्दै जान्छ । हामीकहाँ औषधि पूर्ण रूपमा सेवन नगर्नु अर्को चुनौतीको विषय रहने गर्छ । बिरामीले औषधिको पूरा डोज नलिँदा तत्काल रोग निको भए पनि स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ । 

एन्टिबायोटिक औषधि स्वास्थ्यसंस्था र मेडिकलमा सजिलै उपलब्ध हुन्छन्, यसको प्रयोगमा कुनै किसिमको प्रतिबन्ध छैन । त्यसैले अनावश्यक प्रयोग बढेको छ । अहिले प्रयोगमा आइरहेका एन्टिबायोटिकहरू धेरै समयअघि बनाइएका औषधि हुन् । बजारमा नयाँ एन्टिबायोटिकको अभावले पनि ‘एन्टिबायोटिक रेसिस्टेन्स’ बढाउन भूमिका खेल्छ । 

चुनौती 

 बिस्तारै मानिस, पशुपक्षी तथा बोटबिरुवामा लागेका रोगको उपचारमा कठिनाइ बढ्दै जान्छ । मानिस तथा अन्य जीवमा रोगको क्रम बढ्दै जाने हुन्छ । समयमै रोग निको नहुने हुँदा मानिसमा एक किसिमको डर बढ्दै जान्छ । जसले गर्दा भयावह अवस्था सिर्जना हुन सक्छ । उपचारमा लामो समय लाग्ने हुँदा खर्चिलो हुन्छ । जसले गर्दा आर्थिक भार बढ्दै जान्छ । 

रोकथाम
एन्टिबायोटिक औषधि विभिन्न किसिमका हुने भएकाले सम्बन्धित रोगको परीक्षणविना प्रयोग गर्नुहुँदैन । सबै एन्टिबायोटिक औषधि सबैका लागि उपयुक्त नहुन सक्छन् । बच्चामा पनि एन्टिबायोटिक औषधिले असर पार्ने भएकाले निकै ख्याल गर्नुपर्ने हुन्छ । कसरी सेवन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ ।

औषधि किन्दा केसँग खाने भनेर अनिवार्य चिकित्सकसँग सोध्नुपर्छ । मिर्गाैलाको बिरामीले पनि औषधि सेवन गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोग घातक पनि हुन सक्छ । जस्तै, गर्भावस्थामा एन्टिबायोटिक औषधि प्रयोग गर्दा यसले नकारात्मक परिणाम दिन्छ । त्यसैले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि प्रयोग गर्नुपर्छ ।  

नेपाल पुलिस अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट फिजिसियन डा. नवीन रौनियारको यो लेख नयाँ पत्रिकामा प्रकाशीत छ ।

salt training

कमेन्ट गर्नुहोस्