भीमदत्तनगर, २३ चैत– चौध वर्षपछि कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा भित्र्याइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको एउटा भाले शुक्लाफाँटामा सोमबार भित्र्याइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनका अनुसार यसअघि १४ वर्षपहिले पनि शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएको थियो । उनका अनुसार अब ४ गरी शुक्लाफाँटामा ५ वटा गैँडा भित्र्याउन लागिएको हो ।
११ वटा गैँडा रहेको शुक्लाफाँटामा पहिलो चरणमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईको रोहवरमा निकुञ्जको रानीताल क्षेत्रमा उक्त भाले गैँडा छाडिएको छ । चारवटा पोथी गैँडा ल्याउने प्रक्रियामा छ ।
गैँडाको सङ्ख्यामा वृद्धि गर्न र फरक फरक क्षेत्रमा गैँडालाई मिसाउने उद्देश्यअनुरुप उक्त कार्य थालिएको हो । गैँडा सार्ने निर्णय सरकारले दुई वर्षअघि गरेको ढकालले बताए । त्यतिवेला गैँडा सार्ने क्रममा खटिएको शुक्लाफाँटाको हात्तीलाई गैँडाले आक्रमण गरेको थियो ।
गैँडा निकुञ्जको मूल गेटमा प्रवेश गर्नासाथ निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्स गणको सैनिक टोलीले बाजागाजसहित स्वागत गरेको थियो । सो क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई, कञ्चनपुरका सहायक प्रजिअ प्रेम कुँवर, निकुञ्जका प्रमुख संरक्षण अधिृकत ढकाल, भवानी बक्स गणका गणपति प्रमुख सेनानी दीपक भण्डारीलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखको उपस्थिति रहेको थियो ।
सङ्कटापन्न प्रजातिको संरक्षणसँगै निकुञ्जको जैविक विविधताको संरक्षण र दुर्लभ वन्यजन्तुको बासस्थान रहेको शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार दुई सयको सङ्ख्यामा बाह्रसिङ्गेको झुन्ड, १७ वटा बाघलगायत विभिन्न वन्यजन्तु रहेका छन् । सरकारले गत फागुनमा राजपत्रबाट शुक्लाफाँटालाई पर्यापर्यटकीय गतिविधि बढाउन आरक्षबाट निकुञ्ज घोषणा गरेसँगै स्थानान्तरण गरिएको गैँडा पर्यटकका लागि आकर्षण हुने निकुञ्जले जनाएको छ ।