धनगढी, २३ चैत– स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा यहाँका मतदाताले विकास, समृद्धि र जनताका समस्याको मुद्दालाई सम्बोधन गर्ने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् ।
विगतमा अश्वासन बाँड्ने नेताले यो अवधिमा उपमहानगरवासीको समस्यामा ध्यान नदिएको भन्दै सर्वसाधारणले आउने चुनावमा उपमहानगरका प्रमुख समस्या समाधानमा पहल गर्ने र जनताको दुःखमा साथ दिने जनप्रिय उम्मेदावारलाई मतदान गर्ने बताएका हुन् ।
‘चुनावका बेला भोट माग्न आउदा नेता विभिन्न अश्वासन दिन्छन्, चुनावको परिणामपछि फर्केर आउँदैनन्,’ स्थानीय मतदाता तीर्थराज ओझाले भने, ‘अब त्यस्ता नेतालाई मतदान गर्ने मुडमा जनता छैनन् ।’
भेद्भावको सोच राखेर काम गर्ने, दादागिरी र गुण्डादगर्दी शैलीको व्यवहार देखाउनेलाई आफूहरुको सहयोग नरहने अर्का मतदाता ताहिर अन्सारीको भनाइ छ ।
बि सं २०३० मा नगरपालिका बनेको धनगढीलाई दुईवर्ष अघि मात्र कैलालीको साविक फूलबारी गाविस र उर्मा गाविसलाई समेटेर उपमहानगरपालिका घोषणा भएको थियो ।
१९ वटा वडामा विभाजन भएको यो उपमहानगरपालिकामा १ लाख ४७ हजार ७४१ जनसंख्या छ । तर, उपमहानगरकाका अधिकांश वडामा अझैसम्म सडक, खानेपानीलागायतका आधारभूत सुविधा पुग्नसकेको छैन ।
उपमहानगर क्षेत्रमा वर्षायाममा डुबानका साथै मोहना नदीको कटान, बजार क्षेत्रको साँघुरिएको सडक, ढल निकास, फोहरको व्यवस्थापनलगायतका प्रमुख समस्या यथावत् छन् ।
यसबाहेक दशकौंदेखि ऐलानी जग्गामा बसेका हजारौंं संख्याका गरिब परिवारको जग्गा दर्ता हुन्नसकेको छैन भने कतिपय पूर्व कमैयापरिवारको उचित पुनःस्थापन नहुन्ु अर्को ठूलो समस्या बनेको छ ।
बढ्दो सहरीकरणसँगै यो उपमहानगरका समस्या र चुनौती पनि बर्सेनि बढ्दै गएका छन् । विसं २०४६ को परिवर्तनपछि दुई पटक भएको साविकको धनगढी नगरपालिकाको प्रमुख उपप्रमुखको निर्वाचनमा पहिलो पटक नेपाली काँग्रेस र दोस्रो पटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
पछिल्लो पटक भएको दोस्रो संविधान सभाको चुनावमा कैलाली क्षेत्र नं – ६ मा रहेको धनगढी क्षेत्रबाट ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारी मत अन्तरले विजयी भएका थिए ।
देउवाको विजयी भएको निर्वाचन क्षेत्र भएकाले पनि धनगढी उपमहानगरको प्रमुख उपप्रमुख पद हत्याउन प्रमुख दलको प्रतिष्ठाको विषय बन्नसक्ने विश्लेशण गर्न थालिएको छ ।
विगतमा भएका चुनावी मत परिणामलाई हेर्दा अब हुन लागेको धनगढी उपमहानगरको चुनावको प्रमुख उपप्रमुख लगायतका पदमा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुन्े देखिएको छ ।
उपमहानगरको प्रमुख पदका लागि नेताहरुको दौडधुप तीव्र स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा उपमहानगरको प्रमुख पदका आकांक्षीले भित्रभित्रै आफ्नो दौडधुप तीव्र पारेका छन् ।
प्रदेश नं –७ को एक मात्र उपमहानगरपालिका प्रमुख व्यापारिक केन्द्र रहेकोले पनि धनगढी महानगरपालिकाको चुनावलाई सबै दलले बढी महत्व दिएका हुन् । योसँगै उपमहानगरको प्रमुख उप्रमुखलगायतका पदका लागि आकांक्षी बढेको मात्र नभइ उनीहरुको दौडधुप पनि तीव्र बनेको देखिन्छ ।
उपमहानगरको प्रमुख पदका लागि आकांक्षी देखिएका काँग्रेसका युवा नेता कृष्णबहादुर महरा, नगर सभापति नृप ओड र क्षेत्रीय सभापति हरिश खड्का लगायतले भित्रभित्रै आफ्नो तयारीलाई तीव्र पारेका छन् ।
काँग्रेसका जिल्ला सभापति नरनारायण शाह ‘मनु’ ले पनि उपमहानगरको प्रमुखमा टिकट पाउनसक्ने एकथरीको विश्लेषण छ ।
नेकपा एमालेको तर्फबाट भने पूर्व सभासद नारदमुनी राना, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, नन्दलाल जोशी, दीपकप्रसाद देवकोटा, यज्ञराज बाँस्तोलाको नाम बढी चर्चामा छ । उपमहानगरको प्रमुखमा आफूले टिकट पाएमा विजयी हुन्े दाबीसहित यी नेताले दौडधूप तीव्र पारेको बताइन्छ ।
नेकपा मओवादी केन्द्रको तर्फबाट उपमहानगरको प्रमुखमा आकांक्षी रहेका पार्टीका नगर अध्यक्ष निर्मल शाह, रामसमझ राना, राधाकृष्ण अधिकारीले टिकटका लागि पार्टीका नेता समक्ष ‘लविङ्ग‘ गरिरहेको चर्चा छ ।
राप्रपाले राजेश भण्डारी, रोम स्वाँर, जनककुमारी कुँवर, पुष्करदत्त भट्टमध्ये एक जनालाई टिकट दिनसक्ने चर्चासँगै टिकट हत्याउने रणनीतिमा यी आकांक्षी लागिसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य र कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गोपाल हमाल पनि स्वतन्त्ररुपमा धनगढीको मेयरमा उम्मेदवारी दिने तयारीमा रहेको कुरा सार्वजनिक भएको छ ।
सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत रहेका हमालले उपमहानगरको प्रमुखमा उम्मेदवारी दिएमा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका मतदाता प्रभावित हुने भएकाले पनि कस्को पक्षमा परिणाम पुग्छ भनेर आँकलन गर्न कठिन हुने एकाथरीको विश्लेशण छ ।
प्रमुखका आकांक्षीको दौडधूप तीव्र भएसँगै आ–आफ्नो जनमत बुझ्न यतिबेला आकांक्षी उपमहानगरका टोलटोलमा पुगेर आफ्नो पक्षको जनमत बुझ्नमा व्यस्त छन् ।