
काठमाडौं – पाकिस्तानको लियाकतपुर शहर नजिक तेजगाम ट्रेनमा बिहीवार आगो लागेपछि कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी मानिस घाइते भएका छन् । रहिम यार खान डिस्ट्रिक्ट प्रहरी अधिकारी अमीर ताइमोर खानले यसको पुष्टि गरेका छन् ।
पीडितमा महिला र बालबालिका समेत छन् । कसैको पनि पहिचान खुलिसकेको छैन ।
मृतक र घाइते दुवैलाई लियाकतपुरको डीएचक्यू अस्पताल लगिएको छ । केही घाइतेको अवस्था निकै गम्भीर भएकाले बहवालपुरस्थित बहवाल भिक्टोरिया अस्पताल लगिएको छ ।
ट्रेन कराचीबाट रावलपिण्डी जाँदै गरेको रेडियो पाकले जनायो । यात्रुहरूले बिहानको खाजा बनाउने क्रममा सिलिन्डर विस्फोट हुँदा आगो लागेको रेलवे मन्त्री शेख राशिदले बताए । धेरै मानिस ट्रेनबाट हाम्फालेर ज्यान जोगाएको उनले जानकारी दिए ।
तीनवटा बोगीमा भयंकर आगो लागेको थियो । आगोका कारण क्षतिग्रस्त ट्य्राकलाई दुई घन्टाभित्र सञ्चालनमा ल्याइने पनि उनले बताए ।
एजेन्सी