काठमाडौं, २४ चैत-स्थानीय तहको निर्वाचन आउन एक महिनाभन्दा केही दिन मात्रै बढी समय रहे पनि सत्तारूढ दलहरू भने सहमतिको नाममा समय गुजार्नमै व्यस्त देखिएका छन् । आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी अघि बढाए पनि दलहरू अझै सहमति नजिकसमेत पुग्न सकेका छैनन् , राजधानीमा खबर छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि ९० प्रतिशत बढी काम सम्पन्न गरिसकेका बताएको छ भने देशभरि नै निर्वाचनको माहोल तात्दै गएको छ । तर, राजनीतिक दलहरू भने सहमति कायम गरेर निर्वाचन सफल पार्न भन्दा आ–आफ्ना अडानबाट पछि हटेका छैनन् । संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्ने बताउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एकपछि अर्काे सर्त अघि सार्ने शैलीले सहमति टाढिँदै गएको छ । नेताहरूमा अहिले पनि बोलीमा निर्वाचन र सहमतिको नारा लगाउने तर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणअगाडि नै सत्तारूढ कांग्रेस, माओवादी, राप्रपा, प्रमुख प्रतिपक्षी एमाले र मोर्चाको संयुक्त बैठकमा सहमति खोज्ने प्रयास भएको थियो । सोही बैठकमा प्रधानमन्त्री दाहालले हस्ताक्षर गराउने प्रयास गरेका थिए । सो दिन सहमतिमा हस्ताक्षर हुन नसकेपछि प्रधानमन्त्रीले चीन भ्रमण सक्नेबित्तिकै सहमतिमा हस्ताक्षर गरेर अघि बढ्ने भन्दै छलफल र भेटघाटमा व्यस्त भए पनि निकास निस्कन सकेको छैन ।