सिरहा, २४ चैत-खानेपानीका स्रोतहरू इनार, हातेकललगायतमा जातीय छुवाछूतका घटना बारम्बार भएकाले सामान्य लाग्न सक्ला । तर, खोलाको धमिलो पानीमा पनि दलित भनेर छुवाछूत भएको देख्दा, सुन्दा र भोग्दा भने जोकोहीलाई आश्चर्य लाग्न सक्छ ।

मिर्चैया नगरपालिका–७ मुराबारी मुसहर (सदाय) बस्तीमा भने वर्षौंदेखि यस्तै आश्चार्यलाग्दो तर अमानवीय छुवाछूत जारी छ । सो गाउँका दलित परिवार स्थानीय बताहा खोलाको धमिलो पानीसमेत कथित माथिल्लो जातका गैरदलितको रवैयाका कारण मुस्किलले मात्र पिउन पाउँछन् ।
‘खोलाको किनारमा बनाइएको कुवामा समेत हामीलाई दलित भनेर माथिल्ला जातका मान्छेले पानी भर्न दिँदैनन्,’ स्थानीय ७० वर्षीय बलदेव सदाय भन्छन्, ‘हामी दलितहरू पानी नपाएपछि वर्षौंदेखि बतहा खोलाको धमिलो पानी खान बाध्य छांै ।’
स्थानीय दलितहरूसँग माथिल्ला जातका भनिने छिमेकीले ‘तिमीहरू अछूत हौ’ भन्दै खोलाको धमिलो पानीसमेत आफूले प्रयोग गरेपछि मात्र प्रयोग गर्न दिने गरेको तीतो अनुभव छ ।
स्थानीय दलित समुदाय नौ वर्षदेखि बतहा खोलाकै पानी पिउँछन् । ‘खोलाको खाडलमा गाईभैंसी पनि पानी खान्छन् र मान्छेहरू दिसा गरेपछि त्यही पानीमा सफा गर्छन् । हामी विवश भएर त्यही पानी पिउन बाध्य छौ,’ सदाय भन्छन् ।
स्थानीय दलितका अनुसार माथिल्ला जातका भनिने व्यक्तिहरूले तिमीहरू अछुत हौ । पानी भर्ने बेलामा नजिक नआओ’ भनेर हप्काउने गर्छन् । हप्काइ सहन नसकेर माथिल्ला जातका मान्छेहरू पानी थाप्न आएपछि आफूहरू खोलाको डिलमा पालो कुरेर बस्ने गरेको सदायको भनाइ छ, राजधानी दैनिकमा खबर छ ।