
पोखरा - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेसका नेता स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको शनिवार दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए ।
सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए । उनले भने, ‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ । कम्युनिष्ट सरकारले राम्रो काम गरोस् ।’
सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे । दुई तिहाईको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य काङ्ग्रेसलाई मान्य नहुने बताए ।
‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,’ उनले भने ।
प्रजातन्त्रका लागि काङ्ग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरुद्धमा काङ्ग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो ।