
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य देशका सरकार प्रमुख भन्दा धेरै विदेश भ्रमणमा जाने आरोप लाग्ने गरेको छ ।
केही दिन अघि साउदी अरबको भ्रमणमा गएका मोदी भारत फर्कनेबित्तिकै थाइल्याण्ड प्रस्थान गरेका छन् ।
मोदी ३ दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा मोदीले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउने भएका छन् ।
सम्मेलनमा सहभागी हुनेबाहेक उनले शनिवार नै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम ‘सवस्दी पिएम मोदी’ लाई पनि सम्वोधन गर्नेछन् ।
भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन मोदीले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ । त्यसपछि उनी थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनेछन् ।
आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्ने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।