काठमाडौ, २४ चैत - कांग्रेसले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुन आक्रामक प्रचार रणनीति तय गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसद र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीलाई ‘चुनाव जसरी पनि' जित्ने गरी रणनीति बनाउन निर्देशन दिएका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्ध बनाउन पनि कांग्रेसले जित्नैपर्ने बताएका थिए । ‘राष्ट्र बचाउन र लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय चुनावमा कांग्रेसले जित्नैपर्छ', देउवाले भने, ‘अरू दलको लोकतन्त्रप्रति नै भर छैन ।'
कांग्रेसले यसअघि हुने गरेको अन्तर्घात र वागी उम्मेदवारीलाई यसपटक शून्यमा झार्ने रणनीति बनाएको छ । सभापति देउवाले स्थानीय तहबाटै उम्मेदवार चयन हुने अधिकार दिएर त्यो रणनीति अख्तियार गरेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ |