०७ असार २०८३, आइतबार

दूध बिक्रीबाट मासिक १ लाख २५ हजार कमाइ

कात्तिक १७, २०७६
दूध बिक्रीबाट मासिक १ लाख २५ हजार कमाइ

पाल्पा – ६० वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्छन् ।

अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उनको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ ।

गाईभैंसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाएका उनी खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसूस समेत नभएको बताउँछन् ।

अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाईभैंसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक १ लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । २० लाखको लगानीमा गाईपालन व्यवसाय शुरू गर्दा बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी  अहिले उनको प्रशंसा गर्छन् ।

नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् । १० गाई र ३ वटा भैंसीपालनबाट ४ स्थानीय वासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी छन् । स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट  सफल भइने उनको जिकिर छ ।

आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बनेका छन् अधिकारी । विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके २–४ पैसा कमाउन विदेशिन नपर्ने उनी बताउँछन् । पछिल्ला वर्षमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर आत्मनिर्भर हुन थालेका छन्  । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् ।

salt training

कमेन्ट गर्नुहोस्