
काठमाडौं – आतंकवादी संगठन इस्लामिक स्टेटले शुक्रवार मेनाका क्षेत्रमा सैन्य अड्डामा आक्रमण गरेर ४९ सैनिकको हत्या गरेको छ ।
माली लगायत पश्चिम अफ्रिकी देशहरूमा जिहादी हिंसा बढ्दै जाँदा सयौं मानिसले ज्यान गुमाइसकेका छन् ।
शुक्रवार भएको आक्रमणमा ४९ सैनिक मारिएका छन् र तीनजना घाइते भएका छन् अनि २० जना बाँच्न सफल भएका छन्, मालियन आर्म्ड फोर्सेसले शनिवार जनाएको छ ।
‘खलिफाका सैनिकहरूले सैन्य अड्डामा आक्रमण गरेर माली सेनाका तत्त्वहरूको सफाया गरेका छन्,’ आईएसले आफ्नो सामाजिक सञ्जाल च्यानलमा एक वक्तव्य जारी गरेर जनाएको छ ।
शनिवार चाहिँ फ्रान्सेली कर्पोरल रोनान पोइन्टियु चढेको एक सशस्त्र गाडी विस्फोटमा परेपछि मृत्यु भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।
आईएसले शनिवार त्यस घटनाको पनि जिम्मेवारी लिएको छ ।
पोइन्टियु र उनका सहकर्मीहरूले गाओ र मेनाका शहरहरूबीच यात्रा गरिरहेको एक जत्थाको सुरक्षा गरिरहेका थिए ।
एजेन्सी