
भोजपुर – अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पुर्याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् ।
२ महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राईलाई पक्राउ गरेका हुन् ।
भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४२ औं वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीवार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो ।
उनीहरूको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा २ महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरूले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।
कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका २ महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट १ लाख रियाल, ५ हजार २५० दिनार, ५ हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ ।