लोकान्तर संवाददाता
काठमाडौं २४ चैत – प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो वरियता कसको रहने भन्ने विषयमा देखिएको विवाद टुंग्याउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने निर्णय नेपाली कांग्रेसका मन्त्रीहरुले गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले दोस्रो वरियता नपाए राजीनामा दिनेसम्मको मूड बनाएपछि बिहिबार साँझ भएको गम्भीर छलफलले वरियताबारेको विवाद टुंगो लगाउने जिम्मा देउवालाई दिने निर्णय गरेको हो ।
प्रमपछि क्याबिनेटमा निधि र राप्रपा अध्यक्ष कमल थापाले दोस्रो वरियता पाउने पर्ने दाबी मात्रै गरेका छैनन् त्यही कारण तीन सातायता मन्त्रिपरिषद्को बैठक समेत बस्न सकेको छैन ।
सिंहदरवार स्थित गृह मन्त्रालयमा बसेको बैठकमा निधिले दोस्रो वरियता नपाए सरकारबाट बाहिरिने या मन्त्रिपरिषद् बैठक बहिस्कार गर्ने सम्मको कुरा राखेका थिए ।
तर अरु मन्त्रीहरुले भने वरियताकै विषयलाई लिएर हतारमा निर्णय गरिए त्यसपछिको अवस्था जटिल बन्न सक्ने भन्दै सुझबुझपूर्ण निर्णय लिइनुपर्ने धारणा राखेका थिए ।
विगतमा माओवादी केन्द्रसँग भएको समझदारीअनुसार प्रचण्ड नेतृत्वको सरकारपछि पार्टीकै नेतृत्वमा सरकार बन्ने भएकाले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने धारणा राखेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार सकेसम्म कमल थापालाई सहमतिमा ल्याउन पहल गर्ने र नसके उनैलाई दिँदा पनि केहि फरक नपर्ने धारणा मन्त्रीहरुले निधिसँग राखेका थिए ।
तर निधिले भने कांग्रेससँग भएको सहमतिअनुसार आफूले प्रमपछिको वरियता पाउनु स्वाभाविक भएको बताएका थिए ।
बैठकको अधिकांश समय राजीनामा दिने कुरामा अड्डी कसेका निधिलाई सबै मन्त्रीले ‘वरियताकै कुरामा तपाईले चित्त नबुझाउँदा पछाडिको माहोल बिग्रन सक्छ, त्यतिबेला तपाई के गर्नुहुन्छ ?’ भन्दै र्याखर्याख्ती पारेपछि उनी केहि लचक भएको बताइएको छ ।
मन्त्रीहरुले यसमा निधिको व्यक्तिगत अडान भन्दापनि देउवालाई जिम्मा दिएर जस्तो समझदारी बन्छ त्यसैगरी अघि बढ्दा उचित हुने बताएपछि निधि त्यसमा सकारात्मक बनेको र बैठक सकिएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार मन्त्रीहरुको निर्णयसँगै देउवाले वरियताको विषयमा प्रम प्रचण्डसँग आवश्यक छलफल गरेर निर्णयमा पुग्नेछन् भने यसबारे भोलिबस्ने पार्टीको संसदीय दलको बैठकमा पनि छलफल हुनेछ ।
निधिको दिल्ली भ्रमणको क्रममा गत चैत ३ गते बसेको क्याबिनेट बैठकमा निधिको कुर्सीमा कमल थापा बसेपछि वरियताको विवाद सुरु भएको थियो भने सोहि विवादको कारण प्रमको चीन भ्रमणको क्रममा समेत कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी कसैलाई तोकिएको थिएन । अर्को रोचक त के थियो भने प्रम चीन प्रस्थान गर्दा र फर्कँदा आफूलाई वरिष्ठ मन्त्री देखाउन थापा र निधिबीच विमानस्थलमा निकै प्रतिस्पर्धा चलेको थियो ।