०३ असार २०८३, बुधबार

परम्परागत पोसाकको क्रेज बढ्दै

कात्तिक २४, २०७६
परम्परागत पोसाकको क्रेज बढ्दै
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

काठमाडौं –मौलिक पहिरन हाकु पटासी, आङ्गी पाङ्देन, बख्खु दोचा, गुन्युचोलो, दौरासुरुवाल लगाउँदा लाज मान्ने युवापुस्ता अहिले यस्ता पहिरनले आफू ‘फेसनेबल’ भएको अनुभव गर्ने गरेका छन् ।

युवा पुस्तामाझ ह्यान्डलुम, ह्यान्डिक्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको फेसन डिजाइनरहरूको अनुभव छ । जसमा थरिथरि ढाका, जुट, अल्लो, सिसौ, जुट, हाकु पटासी, हेम, गाँजाजस्ता नेपाली उत्पादनबाट तयार पारिएका पहिरनप्रति आकर्षित हुनेहरूको सङ्ख्या बढेको छ ।

ढाका, भातगाउँले टोपी पनि युवामाझ निकै रुचाइएको छ । उनीहरू यसले मौलिकता देखिनुका साथै फेसनेबल देखिने पनि विश्वास गर्छन् । अङ्ग्रेजी एक तारिखमा सबैले नयाँ वर्ष मनाउँदा नेपालीले राष्ट्रिय टोपी दिवस मनाएको कारण पनि नेपाली टोपीप्रति युवा पुस्ताको मन तानेको अभिनेता विल्सनविक्रम राई बताउँछन्। उनले पनि कुनै पनि कार्यक्रमका लागि मौलिक पहिरन नै छान्ने गरेको बताए।

औपचारिक कार्यक्रम अथवा भोजभतेर अहिले मौलिक पहिरनको पुनरावृत्ति भएको फेसन छ । डिजाइनर आयशा गौतम भन्छिन्, “केही समययता मौलिक पहिरनको लुगा सिलाउन धेरै आउने गरेका छन् ।” उहाँले सांस्कृतिक जागरणसँगै मौलिक पहिरनमा युवापुस्ता लोभिन थालेको बताइन्। आधुनिक समाजमा यस किसिमको रूपान्तरण स्वाभाविक हुने उनको बुझाइ छ ।

युवाको चेतनास्तर बढेको छ, डिजाइनर गौतम भन्छिन्, त्यसैले आफूलाईमोडर्न देखाउन कोट पाइन्ट होइन, मौलिक पहिरन रोज्छन् ।

मिस नेपाल निकिता चाण्डकले जिन्स टिसर्टभन्दा आफ्नो मौलिक पहिरनमा बढी ट्रेन्डी महसुस गर्ने बताइन्। मारवाडी समुदायको भएका कारण आफ्नो मौलिक पहिरनप्रति हुरुक्कै हुने गरेको उहाँले बताउनुभयो । उहाँले दीपावली, डाण्डीय पर्वमा आफ्नो जातीय पहिरनमा सजिने गरेको पनि जानकारी दिइन्।

यस्तै कालो पृष्ठभूमिमा रातो किनाराको हाकु पटासी, चौबन्दी चोली, पछ्यौरा, कल्की र बाजुको पहिरनमा सजिएर नायिका अशिष्मा नकर्मी थुप्रैपटक र्‍याम्पशोमा उत्रिसकिन् । गाईजात्रा, इन्द्रजात्रा, बिस्केट जात्रा, सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ जस्ता विशेष उत्सवहरूमा नकर्मी हाकु पटासी लगाउन रुचाउँछिन् । चाडपर्वदेखि फेसन शोसम्ममा जातीय पहिरन छाउन थालेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्