
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनसम्बन्धी विवाद टुंगिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको विद्यमान प्रावधान संशोधन नगर्न विधान संशोधन समितिमा सहमति भएसँगै विवाद टुंगिएको हो । यससँगै आगामी २९ कात्तिकमा बोलाइएको विशेष साधारणसभा स्थगित हुने भएको छ ।
महासंघको विधान संशोधन समितिको शुक्रबार बसेको बैठकले विशेष साधारणसभा स्थागनका लागि महासंघसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार बस्ने महासंघ स्थायी कमिटीको बैठकले समितिको सिफारिसअनुसार विशेष साधारणसभा स्थगनको निर्णय गर्ने अध्यक्ष भवानी राणाले बताइन् ।
आइतबार अपराह्न महासंघको स्थायी कमिटी बैठक डाकिएको छ । स्थायी कमिटीले विशेष साधारणसभा स्थगनको निर्णय गरेपछि कार्यसमिति बैठकले अनुमोदन गर्ने अध्यक्ष राणाले बताइन् । महासंघलाई अझ सशक्त र एकताबद्ध बनाएर लैजान विशेष साधारणसभा स्थगनको निर्णयमा पुगिएको उनले बताइन् ।
विधानको अहिलेकै व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई निरन्तरता दिने तथा अन्य विषय वार्षिक साधारणसभाबाटै टुंगो लगाउने गरी विधान संशोधनलाई स्थगन गर्न प्रस्ताव गरिएको महासंघका उपाध्यक्ष तथा विधान संशोधन समितिका सदस्य चन्द्रप्रसाद ढकालले बताए ।
‘अध्यक्षको निर्वाचनका विषयमा धेरै विवाद भयो, यसले महासंघलाई झन् कमजोर बनाउने देखियो,’ उनले भने, ‘त्यसैले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने अहिलेकै व्यवस्थालाई निरन्तरता दिने र बाँकी विषय वार्षिक साधारणसभाबाटै टुंगो लगाउने सहमति गरेर हामी अघि बढेका हौँ ।’ नयाँ पत्रिकामा खबर छ ।