
काठमाडौं - नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् ।
वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् ।
सोकार्यक्रम पश्चात पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए । कार्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण शुरू झापाबाट गर्ने कार्यक्रम छ । पौडेलले कार्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कार्तिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्नेछन् ।
कार्तिक ३० गते इलामबाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मङ्सिर १ गते पाँचथरबाट ताप्लेजुङ प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्ले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ ।