काठमाडौं –सरकारले सुन र सुनका गहनाको आयातमा भन्सार दर वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले १० ग्राम काँचो सुनको भन्सार दरमा साबिकको भन्दा १ हजार ३ सय रुपैयाँले वृद्धि गरेको हो । यसअघि ५० ग्रामसम्म काँचो सुन आयात गर्दा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार महसुल तिर्नुपथ्र्यो । अहिले त्यसमा वृद्धि गरेर प्रति १० ग्राम ७ हजार ५ सय रुपैयाँ पु¥याइएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए ।
५० ग्रामपछि थप ५० ग्रामसम्म आयात गर्दा भने प्रति १० ग्रामको भन्सार दर ८ हजार ५ सय रुपैयाँ पु-याएको छ । त्यस्तै, सुनका गहनामा पनि सरकारले भन्सार दर वृद्धि गरेको छ । ५० ग्रामसम्मको गहनामा भन्सार महसुल लाग्दैन । त्यो व्यवस्था यथावत् छ । पहिलो ५० ग्राममा थप सय ग्राम सुनका गहना ल्याउँदा प्रति १० ग्राम ७ हजार २ सय रहेको महसुल वृद्धि गरेर ८ हजार ५ सय रुपैयाँ पुगेको छ । १ सय ग्राममा थप सय ग्रामको गहना ल्याउँदा भने प्रति १० ग्राम १ हजार थप गर्नुपर्ने भएको छ ।
भारतले केहीअघि सुनको भन्सार दर १० बाट १२ प्रतिशत पु-याएको थियो । सोहीकारण नेपालमा सुनको मूल्य कम हुँदा भारतमा तस्करी हुने उच्च सम्भावना रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । पहिलो ५० ग्रामको भन्सार वृद्धि दरले मात्र हिसाब गर्दा १ तोला सुनको मूल्यमा १ हजार ५ सय १५ रुपैयाँले वृद्धि हुने देखिए पनि ठूलो परिमाणमा सुन ल्याउँदा १ हजार ९ सय ८० रुपैयाँसम्म प्रतितोला मूल्यवृद्धि हुने पूर्वअध्यक्ष शाक्यले बताए । नयाँ पत्रिकामा खबर छ ।