०७ साउन २०८३, बिहीबार

बोलिभियामा राष्ट्रपति मोरालेसले किन दिए राजीनामा ?

कात्तिक २५, २०७६
बोलिभियामा राष्ट्रपति मोरालेसले किन दिए राजीनामा ?

काठमाडौं – निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरूले लगातार प्रदर्शन गरेपछि बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतवार राजीनामा दिएका छन् । 

देशको हितका लागि आफूले राजीनामा दिएको उनले बताए । अक्टोबर २० मा चुनाव भएदेखि देशमा चर्को विरोध प्रदर्शन हुँदै आएको छ । विरोधका क्रममा तीनजनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते छन् । 

सप्ताहान्तमा मोरालेसको राजीनामाको माग चर्किंदै गएको थियो । बोलिभियाली सेनाका कमान्डर विलियम्स कालिमानले स्थिरता र शान्तिका लागि मोरालेसलाई राजीनामा दिन भनेका थिए । 

आफूलाई कू गरेर हटाइएको मोरालेसले दाबी गरे । दक्षिण अमेरिकामा उनका साझेदारहरूले उनको दाबीको समर्थन गरेका छन् । तर विपक्षीहरूले यो लडाईं लोकतन्त्र र शान्तिका लागि लडिएको बताएका छन् । 

प्रदर्शनकारी र विपक्षी दलहरूले मोरालेसको पक्षमा मतगणना गर्दै निर्वाचन अधिकारीहरूले धाँधली गरेको आरोप लगाएका थिए । मोरालेसले यी आरोपलाई अस्वीकार गर्दै आफूलाई विजेता घोषणा गरेका थिए ।

समाजवादी नेता मोरालेस दक्षिण अमेरिकी देशमा लामो समयसम्म राष्ट्रपति रहे । उनी बोलिभियाको आदिवासी समुदायका तर्फबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुन् र विगत १४ वर्षदेखि सत्तामा थिए । 

उनले राजीनामा दिएको खबर फैलिएपछि देशभरि खुशियाली मनाइएको छ ।

सीएनएनबाट

कमेन्ट गर्नुहोस्