
धनगढी - कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको आयोजनामा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव हुने भएको हो ।
महोत्सवबारे जानकारी गराउने उद्देश्यले सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामलाल जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गम स्थल काली–कर्णाली क्षेत्रको गौरवलाई विश्वभर चिनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको जानकारी गराए ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रममा नेपालका साहित्यकार, भारत सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङसहित, भुटान, बर्मालगायत देशका साहित्यकार, लेखकहरु गरि ५ सय बढीको सहभागिता रहने भएको छ ।
त्यस्तै, स्थानीय स्तरका पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक समूहको सहभागिता रहने जनाइएको छ । एक हप्तासम्म चल्ने महोत्सवमा साहित्य, संस्कृति, भाषा लगायतको विषयमा समूहगत छलफल, कार्यपत्र प्रस्तुत लगायतको कार्यक्रम हुने भएको छ ।
यसैबीच महोत्सव तयारीको लागि यज्ञराज उपाध्यायको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । भने विभिन्न उपसमिति पनि गठन गरिएको छ ।