
काठमाडौं, २५ चैत — बलिउडका सुपरस्टार सलमान खानले आफ्नो आउने फिल्मको प्रचारका लागि आमिर खानले अपनाएको शैली पछ्याउने भएका छन् ।

फिल्मका निर्देशक कबिर खानले यसमा सलमानको अभिनय बजरंगी भाइजान भन्दा पाँच गुणा बढी राम्रो रहेको बयान दिएपछि त झन् दर्शकहरूमा यो फिल्मप्रतिको चासो ह्वात्तै बढेको छ ।
सलमान खान र फिल्मका निर्माताहरूले ट्युबलाइटको प्रचार आमिरको दंगलको जस्तै गरी गर्ने भएका छन् ।
सशरीर उपस्थित भएर प्रचार गर्ने भन्दा पनि डिजिटल प्रचारमा जोड दिने सलमानको इच्छा छ ।
आमिरको दंगलको त विषय नै दह्रो थियो र दर्शकहरू हलमा ओइरिए । प्रचार रणनीतिका अलावा राम्रो कथाले फिल्मतर्फ दर्शकलाई तान्न मद्दत ग–यो । त्यसैले फिल्मले थुप्रो पैसा कमायो ।
ट्युबलाइटको कन्टेन्ट पनि दंगलको जत्तिकै दह्रो होला भन्ने अपेक्षा गरौं ।
एक था टाइगर र बजरंगी भाइजानपछि ट्युबलाइटमा सलमानले कबिर खानसँग तेस्रोपटक काम गरेका हुन् । यो सन् १९६२ को भारत–चीन युद्धमा आधारित छ ।
फिल्ममा सलमानका अलावा चिनियाँ अभिनेत्री झु झु, शत्रुघ्न सिन्हा, ओम पुरी लगायतको अभिनय देख्न पाइनछ । शाहरुखको पनि सानो भूमिका छ यसमा ।
एजेन्सी