
निजगढ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् ।
बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सीमा समस्या विगतदेखिकै भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए ।
‘सीमाको समस्या धेरै पहिलेदेखि हो तर यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौं तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन, नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । ‘कार्यकर्ताको न्यायपूर्ण, निष्पक्ष र पारदर्शी मूल्यांकन आवश्यक छ । २ महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन । अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन । यो पक्ष उ पक्ष होइन, पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ,’ उनले भने ।
कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फास्ट ट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ति जनाए । उनले विमानस्थल बनाउने क्रममा आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए ।