२१ असार २०८३, आइतबार

जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने

कात्तिक २७, २०७६
जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने

जुम्ला – वनस्पति अनुसन्धान केन्द्र जुम्लाले चालू आर्थिक वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

कार्यक्रम सञ्चालनका लागि स्थलगत भ्रमणको अध्ययन गर्न लागिएको छ । स्थलगत अध्ययन भ्रमणका लागि पूर्व वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीको टोली पातारासी क्षेत्रमा पुगेको छ ।

वनस्पति विभागको कार्यक्रमअन्तर्गत यो वर्षदेखि जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख चन्द्रमोहन गुर्मछानले बताए ।

जुम्लाको ४० हेक्टर जमीनमा उतिस लगाउने तयारी भएको उनको भनाइ छ । 

पहिलो चरणमा १० हेक्टर जमीनमा उतिस लगाउने योजना रहेको भन्दै उनले आगामी वर्षमा ४० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रमअन्तर्गत उतिस लगाउने योजना रहेको बताए ।

कर्णाली प्रदेशका ९ जिल्लामा यो वर्षदेखि वनस्पति पकेटक्षेत्र कार्यक्रम सञ्चालन हुने गुर्मछानले जानकारी गराए । 

कर्णाली प्रदेशको ४०० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने भन्दै उनले पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम सञ्चालनका लागि विभागले तयारी थालेको जानकारी दिए ।

उतिस खेती गर्ने जमीनको स्थलगत भ्रमणका लागि क्षेत्रीको टोली जुम्लामा पुगेर चौधबीस क्षेत्रका किसानसँग समन्वय र खेती गर्ने उपयुक्त वातावारण हेर्ने काम शुरु भएको उनको भनाइ छ । 

सामुदायिक वन र किसानसँग समन्वय गरी वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने पूर्व वैज्ञानिक अधिकृत क्षेत्रीले बताए ।

नेपालमा पाइने वनस्पति हराउँदै गएकाले यसको संरक्षण गर्न विभागले वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन र उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको गुर्मछानले बताए ।

बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गलबाट तथा दुवैबाट आपूर्तिको व्यवस्था मिलाउन वनस्पति पकेट क्षेत्र कार्यक्रमको प्रस्ताव विभागले ल्याएको हो । विजय रावत/रासस

salt training

कमेन्ट गर्नुहोस्