
चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कँदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहुँजसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्छन् । दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिका पनि वीर अस्पतालको मधुमेह एकाइमा आउने गरेका छन् ।
यसले देखाउँछ अब चिनी रोग सबै उमेरका मानिसमा नछोड्ने रोग बनिसकेको छ । वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले दुई वर्षको बालकलाई समेत मधुमेह भएको जानकारी दिँदै मधुमेह उमेर वृद्धिसँंगै हुन्छ भन्ने गलत धारणा फैलिरहेको बताए। उनले ३० वर्ष कटिसकेपछि अनिवार्य मधुमेह भए नभएको परीक्षण गर्न सुझाव दिए ।
केही दिन पहिले मैतीदेवी घर भएका एक १४ वर्षीय किशोर मधुमेह लागेर उपचारमा वीर अस्पतालमा आएका थिए ।
उनी नियमित चिकित्सकको निगरानीमा छन्। ९५ किलो तौल भएका १४ वर्षीय किशोर मधुमेहको औषधि सेवन गर्न थालेको दुई वर्ष भइसक्यो । तर उनको त तौल घट्न सकेको छ न मधुमेह नै नियन्त्रणमा आउन सकेको छ ।
ती किशोर मात्र मात्र होइन वीर अस्पतालमा दुई वर्षका बालकसम्म मधुमेह लागेर आउने गरेको डा. मल्लले जानकारी दिए। उनका अनुसार मधुमेह लाग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । उमेर ढल्कँदै गएका मात्र होइन, बालबालिकादेखि युवासम्मलाई मधुमेहले सताउन थालेको छ । गलत खानपान र सहरी जीवन मधुमेहको प्रमुख कारण बन्दै गएको छ । गोरखापत्रमा खबर छ ।