
भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा २ मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।
ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१७प ४५६४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा५३प १६५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा५३प १६५० नम्बरको मोटरसाइकल चालक चौधरीको मृत्यु भएको हो ।
ग१७प ४५६४ नम्बरको मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–१५ बस्ने २१ वर्षीय सन्तोष ठकुरी र पछाडि सवार २० वर्षीय रमेश विक घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।