
५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल शहर भएर बग्ने तिनाउ र दानव नदीमा धमाधम पक्की पुल बनिरहेका छन् ।
दुवै नदीमा केही पुल बनिसकेर सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन छन् । नदीमा लगभग किलोमिटरैपिच्छे पक्की पुल निर्माण भइरहेका छन् ।
नदीको १६ किलोमिटर क्षेत्रमध्ये केही पक्की पुल बनिसकेका छन्, केही बन्दैछन् भने केही विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको अन्तिम चरणमा छन् । नदीका १६ किलोमिटरमा १६ पुल बनिरहेका छन् ।
झण्डै ३ वर्षको अवधिमा बुटवलमा १४ वटा नयाँ पुल थपिएका हुन् । अन्य ठाउँमा ठेकेदारका कारण पुल निर्माण अलपत्र भएको सुनिएपनि बुटवलका दुवै नदीमा धेरै पुल निर्धारित समयमै निर्माण सम्पन्न भएका छन् । नेता र सांसदहरूको राजनीतिक पहुँचका कारण पुल निर्माणले प्राथमिकता पाएको हो ।
बुटवलमा विकास निर्माणदेखि रूपन्देहीमा पुलहरूको योजना ल्याउनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल अगाडि देखिन्छन् । उनीसँगै नेकपाका अर्का नेता घनश्याम भुसाल, कांग्रेस नेता बालकृष्ण खाँणको योगदान पनि उत्तिकै छ । सबै नेता संघीय संसदमा रूपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।
दुवै नदीमा पुल बनेसँगै रुपन्देहीबासी लाभान्वित छन् । यी २ खोलाका कारण टाढा भएका बजार र बस्ती क्रमशः नजिकिँदै गएका छन् । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयलाई धेरै सहज भएको छ ।
तिलोत्तमा र सियारीलाई जोड्ने एउटा तिनाउ पुल टिकुलिगढमा निर्माण भएर सञ्चालनमा आएको झण्डै २ वर्ष भयो । मगरघाट–रानीगञ्ज, हात्तीसुढ–बुद्धनगर, गोलपार्कदेखि पुरानो बटौली जोड्ने पुल यसै वर्ष सञ्चालनमा आएका छन् । यहीँ नदीको टिकुलिगढ–अमुवा जोड्ने पुल, पश्चिमपौनी–फर्साटिकर, नयाँमिल–मोतिपुर, गोरकट्टा–मोतिपुर (अलपत्र) पुल यसै वर्ष टेन्डरको प्रक्रियामा गएर निर्माण शुरू हुने चरणमा रहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए ।

दानव नदीको झोलुङ्गेपुल–नहरपुर जोड्ने पुल, नयाँगाउँ–बेलबरिया निर्माण सम्पन्न भएका छन् । मैनावगर–टपमजुवा, जितगढी मजुवा, ढवाहा–चम्किपुर, तामनगर–सेमलार, वनकट्टा–कर्साघाट पुल निर्माणाधीन छन् । बोलबम–नरैनापुरधाम जोड्ने पुलको यसै वर्ष डीपीआर हुने मरासिनीले बताए । ‘यहाँ निर्माणाधीन/निर्माण सम्पन्न भएका पुलहरूले बुटवल, तिलोत्तमा, भैरहवालाई नजिक ल्याएका छन् । छोटो समयमा यहाँ धेरै पुलहरू बने,’ उनले भने ।
तिनाउ नदीका जानकार इन्जिनीयर खेटराज दाहालले नेताहरूको पहुँचले छिटो पुलहरू बनेको बताए । ‘पुलहरूको आवश्यकता थियो । नेताहरू हुँदा छिटो भयो । यहाँका गाउँबस्तीले पुल नहुँदा ठूलो समस्या भोग्दै आएका थिए । अब त्यसको निराकरण भएको छ,’ उनले भने ।
तिलोत्तमाका निरज तिवारीले योजना मात्र पारेर नहुने भन्दै समयमा सम्पन्न गराउन पनि नेतादेखि सडक डिभिजन कार्यालयले ध्यान दिनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिनाउ नदीमा बनेका र बन्दै गरेका पुलले समग्र रुपन्देहीबासीलाई एकआपासमा जोडेको र तिलोत्तमा नगरपालिकालाई पनि एउटा केन्द्रको रुपमा विकास गराएको बताए । लुम्बिनीसँग नजिक भएकाले बुटवलको विकासमा पुलहरू प्राथमिकतामा परेका छन् । तिनाउ पुलको सौन्दर्यकरण
पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवलको तिनाउ पुललाई आकर्षक र बलियो बनाउन सौन्दर्यकरण गरिने भएको छ । ओभरलोड र तिनाउ नदीको दोहनले गहिरिँदै गएको पुललाई सुरक्षित बनाउन ‘स्केचर ब्रीज’ बनाउने गरी योजना आएको मरासिनीले बताए । दाहालले अन्य पुलभन्दा मुख्य राजमार्गको पुललाई प्राथामिकता दिएर मर्मत गर्नुपर्ने बताए ।