२१ जेठ २०८३, बिहीबार

भैरहवामा जहाज कुर्दै कृषिमन्त्री खनाल, फर्किएलगत्तै धन्यवाद दिन मन्त्रालय जाने !

भैरहवामा जहाज कुर्दै कृषिमन्त्री खनाल, फर्किएलगत्तै धन्यवाद दिन मन्त्रालय जाने !

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल 'बलदेव' मन्त्रिपरिषद्बाट हट्ने मन्त्रीका रूपमा चर्चामा रहेका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको औपचारिक रूपमै सुनाएका थिए । 

'कोही हट्नुहोला, कोही रहनुहोला,' ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, 'यसलाई नियमित प्रक्रियाकै रूपमा बुझ्न आग्रह गर्छु । भोलि कोही पनि औपचारिक कार्यक्रममा सहभागी नहुनुहोला ।'

संयोगले हट्ने भनिएका दुई मन्त्री मातृका यादव र चक्रपाणि खनाल दुवै उक्त बैठकमा थिएनन् । यादव काठमाडौंमै थिए तर बैठकमा गएनन् । खनाल भने बुटवलमा थिए । खनाल बुधवार अपराह्न भैरहवा विमानस्थलमा काठमाडौं आउने जहाज कुरिरहेका छन् । 

बिहान ९ बजेको फ्लाइट अझैसम्म हुन नसक्दा खनाल विमानस्थलमै रोकिएका हुन् ।

खनाललाई सोमवार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निवास खुमलटार बोलाए ।

'प्रचण्डसँग मन्त्रिपरिषद हेरफेरका बारेमा कुराकानी भएको थियो,' खनाल निकटस्थ स्रोतले लोकान्तरसँग भन्यो, 'मन्त्री खनालले आफू हट्ने संकेत त्यतिबेलै पाइसकेका थिए ।' 

'तपाईंलाई हटाउने कुरा भएको छ मेरो र प्रधानमन्त्रीको,' प्रचण्डले खनाललाई भने, 'तपाईंको केही छ भनाइ ?' 

जवाफमा खनालले आफ्नो केही कुरा नभएको बताए । 'मलाई समस्या छैन, हटाएर नयाँ साथीलाई पालो दिनुपर्ने मैले मेरो कर्तव्य पनि ठानेको छु ।' 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग मन्त्री खनालको केही सातायता भेटघाट भएको छैन ।

'हटाउने नै हो भने एकपटक बोलाएर त सोध्नुपर्थ्यो नि !' खनालले आफ्ना निकटस्थसँग गुनासो गरेका थिए, 'यद्यपि केही छैन । मैले आफ्नो कार्यकाल राम्रोसँग पुरा गरें । नयाँ साथीलाई पालो दिनु मेरो पनि कर्तव्य हो ।'

बुधवार राजधानी फर्केपछि खनाल मन्त्रालय जानेछन् ।

'त्यहाँ उहाँलाई अहिलेसम्म सहयोग गरेका कर्मचारीहरूलाई धन्यवाद भन्नुहुनेछ,' उनीनिकट स्रोतले भन्यो, 'त्यसपछि उहाँ पार्टीको नियमित काममा फर्किने योजना बनाउनुभएको छ ।' 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन माओवादीकातर्फबाट यादव र खनालले प्रतिनिधित्व गरेका थिए । त्यतिबेला पार्टी एक भइसकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्