
चीनले सन् २०३० सम्ममा ६जी नेटवर्क ल्याउने र नयाँ प्रविधि ५जीभन्दा १०० गुणा बढी तीव्र हुने देशको अग्रणी टेलिकम्युनिकेसन विज्ञले खुलासा गरेका छन् ।
बेइजिङले यसै महिनाबाट नेक्स्ट जेनेरेसन मोबाइल इन्टरनेट कनेक्सनमा अनुसन्धान र विकास शुरू गरेको छ ।
सुपरफास्ट ५जी नेटवर्कहरू चिनियाँ नागरिकहरूका लागि उपलब्ध गराइएको केही दिनपछि नै राज्यको पहलमा ६जीको काम शुरू गरिएको हो ।
‘६जी व्यापारिक प्रयोजनका लागि सन् २०३० सम्ममा सार्वजनिक गरिनेछ । विकासको विधिका आधारमा यो आकलन गरिएको हो तर निश्चित छैन,’ ६जी विकास गर्ने टोलीका एक सदस्य याङ यिफेङले बताए ।
६जीको विकास प्रक्रियालाई तीव्र गति दिनका लागि थप विकसित विधि फेला परेमा सन् २०३० अघि नै त्यसलाई सार्वजनिक गरिने सम्भावना रहेको याङले बताए ।
विज्ञहरू उक्त प्रविधिको खोजको आरम्भिक चरणमा रहेको तर ६जी अहिलेको ५जीभन्दा १० देखि १०० गुणा तीव्र गतिको हुने अपेक्षा गरिएको उनले बताए ।
एजेन्सी