
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
सचिवालय बैठकअघि प्रधामनन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
नेकपाभित्र मन्त्री बन्नका लागि नेताहरूको दौडधूप चलिरहेको छ ।
प्रदेश नम्बर १ बाट वसन्त नेम्वाङ र राजेन्द्र गौतमको चर्चा छ । वसन्त पाँचथरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने गौतम संखुवासभाबाट निर्वाचित भएका हुन् ।
ओखलढुंगाका यज्ञराज सुनुवार र मोरङबाट निर्वाचित अमनलाल मोदीको नाम पनि मन्त्री बन्न सक्ने नेताहरूको सूचीमा छ ।
प्रदेश नम्बर २ बाट प्रभु शाह र रामेश्वर राय यादवको चर्चा छ ।
यादव तत्कालीन मधेशी जनअधिकार फोरमको वरिष्ठ उपाध्यक्ष छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रदेश नम्बर ३ बाट सुरेन्द्र पाण्डे, पम्फा भुसाल, महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ र पार्वत गुरुङको चर्चा छ ।
भुसाल ललितपुर ३ बाट निर्वाचित सांसद् हुन् भने महेश भक्तपुर– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
कृष्णगोपाल काठमाडौं ९ र गुरुङ दोलखाबाट निर्वाचित सांसद हुन् ।
प्रदेश ४ बाट देवेन्द्र पौडेल, खगराज अधिकारी, हरि अधिकारी र कृष्णकुमार श्रेष्ठको नाम चर्चामा छ ।
तत्कालीन नयाँ शक्ति पार्टी छाडेर माओवादीमा फर्केका पौडेल बाग्लुङबाट निर्वाचित हुन् । श्रेष्ठले तनहुँबाट कांग्रेस नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।
प्रदेश ५ बाट घनश्याम भुसाल, हृदयेश त्रिपाठी, सोमप्रसाद पाण्डे र छविलाल विश्वकर्माको नाम चर्चामा छ ।
भुसाल झलनाथ खनाल प्रधानमन्त्री हुँदा विनाविभागिय मन्त्री बनेका थिए भने त्रिपाठी स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका नेता हुन् ।
कर्णाली प्रदेशबाट जनार्दन शर्माको नाम चर्चामा छ ।
सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्ट, नारदमुनि राना, प्रेम आले र गणेश ठगुन्नाको नाम चर्चा छ ।
भट्ट कैलाली र आले डोटीबाट निर्वाचित संसद हुन् । रानाले कांग्रेस नेतृ आरजु देउवा राणालाई पराजित गरेका थिए ।
चर्चामा रहेका यी नाममध्ये केही नेता मात्र मन्त्री बन्नेछन्, अधिकांश भने चर्चामै सीमित हुने खतरा छ ।