प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनबारे लामो चर्चाबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।
बुधवार भएको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा छलफल नभएपनि तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे जानकारी गराएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गरिराख्नुभएकै छ । आजको बैठकमा त्यसबारेमा थप छलफल भएन । प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गर्नुभए अनुसार तुरुन्तै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ ।’
प्रधानमन्त्री ओलीले मंगलवारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई समेत पुनर्गठनबारे जानकारी गराएका थिए । ओली सरकारबाट हट्ने र नयाँ थपिने मन्त्रीको नाम भने आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।