०६ साउन २०८३, बुधबार

ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटियो एक हजारका नक्कली नोट

ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटियो एक हजारका नक्कली नोट

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रु एक हजारको नक्कली नोट फेला परेको छ । दिपायलस्थित एनसिसी बैंकमा एक जना ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा रु एक हजारका दुई वटा नक्कली नोट फेला परेको हो । 

 बैंक कर्मचारी अनिल शाहीले बैंकमा रु ३५ हजार जम्मा गर्न आएका एक जना ग्राहकको रकममा रु एक हजार दरका ती दुई नक्कली नोट फेला परेको बताए। उनले भने “एक जना ग्राहक रकम जम्मा गर्न आउनुभयो, हामीले रकम जम्मा गर्ने बेला हेर्दा दुई नोट नक्कली भएको फेला पार्‍यौँ ।”

अन्य रुपैयाँभन्दा उक्त रुपैयाँको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाइ छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए  ।

उनले भने “नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।” डोटीमा नक्कली रुपैयाँ भेटिएको यो पहिलो पटक हो । बैंकमा जम्मा गर्ने समयमा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्