काठमाडौंँ, २६ चैत - आज अर्थात् चैत २६ गते । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनले सफलता पाएको दिन । सत्ताइस वर्षअघि आजकै दिनले २०१७ साल पुस १ गते अपहरण भएको नेपाली जनताको नागरिक हक पुनःस्थापनाका निम्ति सफलता पाएको थियो, गोरखापत्रमा खबर छ ।
सर्वोच्च नेता गणेशमान सिंहले ३० वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न नेपाली काँग्रेसले वामपन्थीसित मिलेर जनआन्दोलन गर्ने निष्कर्ष निकाले र त्यसैको फलस्वरूप सातवटा वामपन्थी पार्टी मिलेर संयुक्त वाममोर्चा बनेको थियो । सर्वोच्च नेता सिंहको मार्गचित्र र नेतृत्वअनुरूप नै २०४६ साल फागुन ७ गतेदेखि सर्वोच्च कमान्डर गणेशमान सिंहले नेतृत्व गरेको जनआन्दोलनले अन्ततः आजैको दिन सफलता प्राप्त गरेको थियो ।
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई जनआन्दोलनको गन्तव्य मानेर आरम्भ गरिएको आन्दोलन चैतको तेस्रो सातामा उत्कर्षमा पुग्योे । चैत २३ र २४ गते राजधानीलगायत ठाउँमा निषेधाज्ञा जारी गरियो । तत्कालीन प्रधानमन्त्री मरीचमान सिंहको राजीनामा आएपछि पञ्चायती व्यवस्था गल्यो । सँगसँगै आन्दोलनकारी र राजाबीच संवादको बाटो खुल्यो ।
आन्दोलनकारीका तर्फबाट नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला अनि संयुक्त वाममोर्चाका तर्फबाट अध्यक्ष सहाना प्रधान र राधाकृष्ण मैनालीले दरबारमा राजा वीरेन्द्रसँग गरेको प्रत्यक्ष संवादले पञ्चायती संविधानबाट दलविहीन हटाउने निष्कर्ष निकाल्यो ।