२२ जेठ २०८३, शुक्रबार

लाखौं मूल्यको चामल कुहिएर खेर जाँदै, सरकार मौन

मंसिर ६, २०७६
लाखौं मूल्यको चामल कुहिएर खेर जाँदै, सरकार मौन

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ ।

तर सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो । तर आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् । आजको राजधानी दैनिकमा खबर छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन कम्पनीको महानिर्देशक रहेका थिए । उनले ११ कातिकबाट अवकाश पाइसकेका छन् । हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले कम्पनीको सबै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीको गोदाममा लाखौंको मूल्यको चामल कुहिनुमा त्यहाँ कार्यरत कर्मचारीको चरम लापरबाही भएको पाइन्छ । यसका साथै सरोकारवाला निकाय वाणिज्य विभागदेखि आपूर्ति मन्त्रालयका सचिव र मन्त्रीसमेत जिम्मेवार रहेको बताइन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेत उतिकै जिम्मेवार रहेको छ । कुनै सरकारी तथा निजी व्यापार कम्पनीका खाद्य गोदाम तथा भण्डारणमा राखेका खाद्यान्न वस्तुको गुणस्तर छ वा छैन भनेर अनुगमन गर्ने जिम्मा विभागको हो । तर विभागले पनि कडाइका साथ अनुगमन गरेको देखिँदैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले गोदाममा थन्काएर राखेको खाद्यान्न गुणस्तरयुक्त भए नभएको बारे अनुगमन हुनुपर्ने बताए ।

कम्पनीमा कार्यरत केही कर्मचारीको लापरबाही र अनियमितता कारण कम्पनीको अवस्था खस्किँदै गएको स्रोतको दाबी छ । कमिसनको लोभमा धान चामल किन्दा वा बोरामा प्याकिङ गर्दा कमसल बोराको प्रयोग गर्नाले गोदाममा राखिएको चामल छिट्टै कुहिने गरेको स्रोतको भनाइ छ । कम्पनीमा देखिएको अनियमितताको छानबिन गर्नुपर्ने र त्यहाँ कार्यरत कर्मचारीको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने माग उठेको छ ।

कर्मचारीको लापरबाहीका कारण कम्पनीको अञ्चल कार्यालय थपाथलीको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको हो । सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ ।

कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्नसमेत कठिन भएको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्