काठमाडौं, २६ चैत – सहर बजारमा रहेका स्थानीय सरकारी स्वास्थ्य संस्थाहरुबाट पर्याप्त र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसकेका बेला त्यसको परिपुर्तिका लागि स्वास्थ्य प्रबर्धन केन्द्र खोल्ने योजनाले मुर्त रुप लिएको छ ।
शहरवासीलाई स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकिकृत प्याकेज पुर्याउने गरि काठमाडौंमा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रबर्द्धन केन्द्र) स्थापना गर्ने गरि स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिका वीच शुक्रबार सम्झौता भएको हो ।

सहरी गरिवी र नसर्ने रोगको प्रकोप बढीरहेकाले स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको साझेदारीमा हाललाई काठमाडौं महानगरपालिकाका ११ वटा वडामा शुरु हुन लागेको यो सेवा आगामी ३ बर्षभित्रमा सवै वडामा विस्तार गरिसक्ने योजना बनाइएको छ ।
निशुल्क प्राप्त हुने आधारभुत स्वास्थ्य सेवावाट शहरी जनसंख्यालाई बञ्चित हुन नदिन र नियमित परिक्षण, परामर्श र प्राथमिक उपचार सेवाको प्रत्याभुतु शहरवासीलाई गराउन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा जनता स्वास्थ्य केन्द्र संचालनमा ल्याउन लागिएको हो । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एबं कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात काठमाडौं महानगरपालिकाभित्र ११ स्थान चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बषपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले चावहिल, कुलेश्वर लगायतका ६, ७ ठाउमा एक हप्ता भित्रमा सुरु गरिसक्ने बताए ।
जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परिक्षण, मातृशिसु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्ध वृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परिक्षण र उपचार सेवा प्रदान गरिने छ ।