काठमाडौँ, २६ चैत - कांग्रेस बैठकमा नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवाको कार्यशैलीप्रति रोष प्रकट गरेका छन् । ‘चुनावलाई सत्तासँग जोडिएको छ, यसले गर्दा चुनावमा कांग्रेस कमजोर हुने र हामी रक्षात्मक बन्ने अवस्था देखिनु विडम्बनायुक्त छ,’ पौडेलको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘सरकारमा उपप्रधानमन्त्रीको वरीयतादेखि प्रहरीको आइजिपीको विवाद समयमा मिलाउन नसक्दा हामी कमजोर देखिएका छौँ ।’ पौडेलले घुमाउरो शैलीमा आइजिपी प्रकरणमा पार्टीले बैठकबाटै निर्णय गरेर असन्तुष्टि जनाउँदा पार्टी नै फस्न पुगेको बताएका थिए, नयाँ पत्रिकामा खबर छ ।
पौडेलले चुनावी घोषणापत्रमा एजेन्डा नारा के हो ? यी विषय सबै जिल्लामा पठाउनुपर्ने भए पनि समयमा हुन नसकेको भन्दै असन्तुष्टि जनाए । जिल्लालाई घोषणापत्र बनाउने प्रस्ट जिम्मा दिनुपर्ने भए पनि समयमा गर्न नसकिएको उनको भनाइ थियो । पौडेलले एमालेले राष्ट्रवादको नारा दिए पनि आफूहरू बढी राष्ट्रवादी हुँदा पनि प्रचार गर्न नसकिएकोसमेत बताए ।