२८ जेठ २०८३, बिहीबार

कतारमा निर्माण कामदारलाई शीतल बनाउने हेल्मेट दिइने

कात्तिक २०, २०७४
कतारमा निर्माण कामदारलाई शीतल बनाउने हेल्मेट दिइने
काठमाडौं, ५ पुस — कतारमा विश्वकप सञ्चालनका लागि संरचना निर्माणमा संलग्न कामदारलाई शीतल हुने टोपी (हार्ड ह्याट/हेल्मेट) दिइने भएको छ । कामदारहरूले लगाउने कडा टोपीमा शीतल बनाउने प्रविधि राखेर उखरमाउलो गर्मीमा फूटबल रंगशाला बनाउन लागिएको हो ।


यो नवीन प्रविधि अनुसार सोलार पावरका मद्दतले फ्यान घुमाएर शरीरको तापक्रम दश डिग्रीसम्म घटाउन मिल्ने प्रतियोगिता आयोजनाको निरीक्षण गर्ने निकाय सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले बतायो ।

‘यस प्रविधिले आरामदायी र थप सुरक्षित कार्यस्थल बनाउन सहयोग पु-याउनेमा हामी विश्वस्त छौं,’ कतार विश्वविद्यालयका इन्जिनियरिङ प्राध्यापक साउद अब्दुल-अजिज अब्दुल-गानीले बताए । विश्वविद्यालयमा नै टोपी बनाइएको हो ।

शीतल गराउने टोपी अर्को गर्मीमा निकालिने अधिकारीहरूले जानकारी दिए ।
गर्मीमा कतारको तापक्रम ५० सेल्सियस पुग्छ ।

गर्मीमा चार घन्टासम्म यसले शीतल गराउने गानीले जानकारी गराए । यसले गर्मी ठाउँका निर्माण उद्योगमा क्रान्ति ल्याउने उनको विश्वास छ ।

पहिलोचोटि कतारका कामदारले यस्तो हेल्मेट लगाउने भएका छन् । दुई वर्ष लगाएर यसलाई बनाइएको सुप्रिम कमिटीका एक इन्जिनियर हिलाल जेहम अल-कुवारीले बताए ।

सन् २००७ देखि कतारमा कामदारहरूलाई चरम गर्मीका बेला घरबाहिर काम गर्न प्रतिबन्ध लगाइएको छ ।
कतारमा विश्वकपका लागि रंगशाला बनाउन पाँच हजार कामदारलाई खटाइएको छ । आगामी दुई वर्षभित्र यो संख्या ३६ हजार पु-याइनेछ ।

विश्वकप २०२२ आयोजना गर्ने आफ्नो देशमा आप्रवासी कामदारमाथि नराम्रो व्यवहार गरेकोमा कतारलाई अन्तर्राष्ट्रिय तहमा आलोचना गरिएको छ ।

यसै वर्षको शुरुवातमा मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा मानिसलाई जबर्जस्ती काम गर्न लगाइएको आरोप लगायो ।

गत अक्टोबरमा २९ वर्षीय नेपाली कामदार अनिल कुमार पासवानको अल वक्राह रंगशालामा लरीले हानेर मृत्यु भएको थियो । कतारका विश्वकप आयोजकहरूले निर्माण कार्यसँग सम्बन्धित यो पहिलो मृत्यु भएको घोषणा गरे ।

द गार्डियन

salt training

कमेन्ट गर्नुहोस्