
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तरमा सुधार भएको छ । केही दिन अगाडिभन्दा अहिलेको वायुको गुणस्तरमा सुधार भएपछि दिल्ली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहतको अनुुभूति भएको अधिकारीले बताएका छन् ।
'अहिले ‘भिजिविलिटी’को अवस्थामा निकै सुधार आएको छ, गत दुई तीन दिन अगाडिभन्दा अहिलेको हावाको गति पनि बढेको छ,' एक अधिकारीले भने ।
'मैले पहिला पहिला श्वासप्रस्वासमा कठिनाई महशुस गरेको हुन्थेँ, तर अहिले त्यो कम भएको महशुस गरेको छु, अहिले म नियमित हिड्न सक्ने पनि भएको छु,' स्थानीय बासिन्दा रित्वीकले समाचार एजेन्सी एएनआईसँग भने ।
अर्का स्थानीय अनुरागले पनि वायुको गुणस्तरमा सुधार आएको भन्दै खुशी व्यक्त गरे । उनले भने, 'पहिला भन्दा त धेरै सुधार भएको छ, धेरै राम्रो भएको छ, तर अहिले पनि धुँवा त देखिएको छ, यसमा अझै पनि सुधार आवश्यक छ ।'
केन्द्रीय प्रदुषण नियन्त्रण विभाग (सिपीसिबी)का अनुसार विहान नौ बजेतिर नयाँदिल्लीको आनन्द विहारमा वायुको गुणस्तर मापन गर्दा सुचकांक १७० देखिएको थियो । त्यसैगरी अया नगरको ११९, जवाहरलाल नेहरु रंगशालाको ११८ र मेजर ध्यानचन्द राष्ट्रिय रंगशालामा १२६ मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।
यसअघि केही हप्तासम्म दिल्लीको वायुको गुणस्तर अत्यन्त नराम्रो भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो भने विद्यालयहरु पनि बन्द गरिएको थियो । त्यस्तै सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको थियो ।