
श्रीलंकाका नयाँ राष्ट्रपति गोताबाया राजपक्ष भारत आएका छन् । दुईदिने भ्रमणमा आएका उनी बिहीवार बेलुका दिल्ली पुगेका हुन् ।
राष्ट्रपतिका रूपमा गोताबायाको यो पहिलो आधिकारिक विदेश भ्रमण हो । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा भारत गएका हुन् ।
रणनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउन गोताबायाले मोदीसँग कुरा गर्ने कार्यक्रम छ ।
दश दिनअघि भारतका विदेशमन्त्री एस जयशंकर अघोषित रूपमा श्रीलंकाको दुईदिने भ्रमणमा गएका थिए । उनी गोताबाया राजपक्षसँग भेट्ने पहिलो विदेशमन्त्री थिए ।
त्यतिखेर जयशंकरले राजपक्षलाई निमन्त्रण गर्ने मोदीको पत्र थमाएका थिए ।
पहिलापहिला श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित हुनेबित्तिकै भारत भ्रमण गर्थे । दक्षिण एसियामा भारतको दबदबा भएका कारण यसो हुने गर्थ्यो ।
तर यसपालि भारत आफैंले गोताबाया राजपक्ष निर्वाचित हुनेबित्तिकै जयशंकरलाई कोलम्बो पठायो ।
राजपक्षको झुकाव चीनतिर भएको र भारतलाई उनले विरोधीका रूपमा हेर्ने भएकाले भारत यसपालि उनलाई फकाउन बढी सक्रिय भएको मानिएको छ ।
विश्लेषकहरूका अनुसार, राजपक्ष चीनप्रति बफादार भएकाले गर्दा नै भारतले हतारो गरेको हो ।
तर अर्काथरी विश्लेषकहरू गोताबाया यति सजिलै भारत आउनु पनि आश्चर्यको कुरा भएको बताउँछन् ।
श्रीलंकासँगको सम्बन्ध सुधार्न भारतले के गर्नुपर्ने हुन्छ भन्ने प्रश्नमा श्रीलंकामा बसेर काम गरिसकेकी वरिष्ठ पत्रकार निरूपमा सुब्रमण्यम भन्छिन्, ‘एउटा मात्र नभई अनेकौं विषयमा काम गर्ने आवश्कयता छ ।’
उनले भनिन्, ‘महिन्दा राजपक्षलाई अघिल्लो चुनावमा हराउनका लागि भारतले भूमिका निर्वाह गरेको थियो भन्ने विश्वास गरिन्छ । तर विगतलाई बिर्सेर भारतले श्रीलंकालाई सुसम्बन्ध बनाउन आफू तयार रहेको विश्वास दिलाउनुपर्ने हुन्छ ।’
फ्रान्समा बस्ने अनि श्रीलंकाली डायस्पोरमा नजर राख्ने तमिल लेखक गोरिपाल सातिरी चाहिँ गोताबाया भारत भ्रमणमा आउनुलाई अमेरिकासँग जोडेर हेर्छन् ।
गोताबायाले चीनसमर्थक छवि बनाएका छन् । सातिरी भन्छन्, ‘आफूले अमेरिकी नागरिकता त्यागिसकेको दाबी गोताबाया गर्छन् । तर अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् । शायद अमेरिकाले चीनतर्फ ढल्किनुअघि गोताबायाले सोचविचार गरून् भनेर दबाब दिइरहेको छ ।’
भारत अहिले श्रीलंकामा के गर्न चाहन्छ र श्रीलंका त्यसका लागि कुन हदसम्म जान सक्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
अब्जर्भर रिसर्च फाउन्डेसनको चेन्नई इनिसिएटिभ प्रमुख एन सत्यमूर्ति भन्छन्, ‘श्रीलंका चीन र पाकिस्तानको दबाबमा आउनुअघि भारत कुराकानीका माध्यमले सम्बन्ध सौहार्द्र बनाउन चाहन्छ । भारत यसअघिका राष्ट्रपति सिरिसेनाको शासनदेखि पनि खुशी थिएन । सिरिसेनाले चीनलाई जपत महत्त्व भारतलाई दिएनन् ।’
‘रणनीतिक रूपमा त्रिन्कोमाली पोर्ट प्रोजेक्टमा भारतको नजर थियो तर सिरिसेनाको शासनकालमा भारतले त्यसलाई अघि बढाउन पाएन ।’
सत्यमूर्ति भन्छन्, ‘गोताबायाको भ्रमणमा दुवै देश द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मुद्दामा एकअर्काको विचार जान्ने कोशिश गर्नेछन् ।’
बीबीसी हिन्दीबाट