
नक्कली सरकारी कागजात बनाउने ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रवार पक्राउ गरेको छ ।
प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायत सामग्री गैरकानूनी रुपमा बनाएको आरोपमा ओखलढुंगा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।
ब्यूरोले शुक्रवार पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो ।
ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोंगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामंगल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जानकारी दिए ।
अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसूरअन्तर्गत दफा २७६ विपरीत कसूर भएकाले २७६ (३)(ग) बमोजिम ७ वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ ।