
बिरामी प्रधानमन्त्री ओलीसँग प्रचण्डको १५ मिनेट लामो कुराकानी
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा भेट गरेका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डको सचिवालयले बताएको छ ।
यसअघि पनि मंगलवार प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए ।
तर शल्यक्रियालगत्तै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएकाले द्विपक्षीय संवाद हुन सकेको थिएन । शुक्रवारको भेटमा ओली प्रचण्डबीच १५ मिनेटजति देशको समसामयिक राजनीतिको विषयमा छलफल भएको स्रोतले बतायो ।
यतिबेला प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आइसकेको छ ।
गत मंगलवार बिहान प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो ।
विप्लव नेतृत्वको नेकपा धमाधम छोड्दै कार्यकर्ताहरू
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका दुई कार्यकर्ताले शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)मा पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका २५ वर्षीय राजेश बुढा र परिवर्तन गाउँपालिका–५ रोल्पा घर भई रुकुम (पूर्व)को भूमे गाउँपालिका–६ महतमा बस्दै आउनुभएका ३१ वर्षीय धनबहादुर ओली रहेका छन् ।
बुढा सहकारीको प्रबन्धक हुन् भने ओली व्यवसायी हुन् । उनीहरूले प्रेस विज्ञप्ति निकालेर आजकै मितिबाट जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष नेकपासँग सबै नाताहरु टुटाई आगामी दिनहरुमा उक्त पार्टीसँग कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सवारी दुर्घटनामा तीनको मृत्यु, १५ गम्भीर घाइते
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस (फोर्स) गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पुरानो घर दैलेख भई हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उहाँकी श्रीमती कमला बडुवाल रहेका छन् । अर्का मृतक वीरेन्द्रनगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्लाप्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गाडी सडकबाट २५० मिटर तल खसेको छ । हाइसमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै उद्धारकार्यलाई प्रभावकारी बनाएका कारण अन्य मानवीय क्षति हुननसकेको दैलेखका प्रहरी प्रमुख हरीबहादुर ओलीले जानकारी दिए ।
१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीमा भएको दुर्घटनाको छानबिन समिति गठन
अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहनेछन । त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासङ्घका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् ।
सरकारले चुनाव जित्न सबैखाले हत्कण्डा अपनायो - कांग्रेस नेता पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मङ्सिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताएका छन् ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय प्रतिनिधिको रुपमा बागलुङ खटिएका पौडेलले सत्तारुढ दलले सत्ताधारी उम्मेदवारलाई जिताउन राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको दाबी गरे ।
बलात् ढंगले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न स्थानीय प्रशासनसँगको मिलेमतोमा सरकारले सबै खाले हतकण्डा अपनाइरहेको आरोप पौडेलले लगाए ।
नेपाल साग महिला भलिबलको सेमिफाइनलमा
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा भारतले बंगलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेश भारतसँग ३–० ले पराजित भयो । पराजयसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
संविधान संशोधनको मिसन पूरा गर्न सरकारमा आएको हुँ : उपप्रम यादव
उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग शुक्रवार भएको संयुक्त पत्रकार भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताए ।
‘संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हँुदैन, पार्टीको मुख्य मिसन नै संविधान संशोधन हो,’ उनले भने । उपप्रधानमन्त्री यादवले वार्ताबाटै समस्या समाधान खोज्ने पक्षमा आफूहरू रहेको बताए ।
प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– 'कालापानीबाट भारतीय सेना हटाउन पहल भइरहेको छ'
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाएका छन् ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग स्पष्ट रहेकाले लिपुलेक, कालापानी, लिम्यिाधुरा नेपालको भएकामा द्विविधा नरहेको प्रष्ट पारे ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमाका विषयमा प्रधानमन्त्री ओलीलाई लाञ्छित गरी हालै पोखरामा दिएको अभिव्यक्ति अपरिपक्व र राजनीतिकरूपमा हतास मानसिकताबाट आएको सल्लाहकार थापाको भनाइ थियो ।
सीमा विवाद मिलाउन मुख्यमन्त्री पोखरेललाई अनेरास्ववियूको ज्ञापन
नेपाल–भारतको सीमा विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देहीले शुक्रवार प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित प्रदेशअन्तर्गत पर्ने विभिन्न क्षेत्रको सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
अनेरास्ववियू रुपन्देहीका नेता लेखनाथ खनाल र रुपेश पौडेलद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेशअन्तर्गत पर्ने बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र, बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी, रुपन्देहीको दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, नवलपरासीको सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरे सीमा क्षेत्रमा विवाद रहेकाले अविलम्ब समाधान गर्न माग गरिएको छ ।
जीप पल्टिँदा १ जनाको मृत्यु, ९ घाइते
रुकुमपूर्वमा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी ३ वर्षीया बालिका निसीम पुन रहेकी छन् ।
कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नम्बरको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो ।
घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।
उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्ण्सिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन् ।
बेहुलीझैं सिंगारियो दशरथ रंगशाला
तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रंगशाला बेहुलीझैं सिंगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रंगशालामा बलेको झिलीमिली बत्तीले माहोललाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।
रंगशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अंकित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रंगशालाले साँच्चिनै बेहुलीले झै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रंगशाला मात्र होइन, राजधानी काठमाडौं नै अहिले सजिएको छ ।
खेलकुदका विभिन्न ब्यानर, मस्कट लोगो, अफिसियल राष्ट्रको लोगो र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ ।
बलात्कार आरोपमा सिद्धबाबालाई पक्राउ गरिने, अदालतबाट अनुमति प्राप्त
बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध जिल्ला अदालत सुनसरीले शुक्रवार पक्राउ पुर्जी जारी गरेको छ ।
बलात्कारको आरोप लाग्दै जाहेरी परेपछि प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता गोपालप्रसाद गिरीले बताए ।
सिद्धबाबाले आश्रममा बोलाएर बलात्कार गरेको आरोप उनकै एक अनुयायीले लगाएकी छन् । जबरजस्ती करणीको मुद्दा प्रहरी कार्यालयमा पुगेको छ ।
सञ्चारमन्त्री बाँस्कोटा भन्छन् – सरकार सञ्चारमा ‘मेजर अप्रेसन’ चाहन्छ !
सञ्चार क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४/७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढंगबाट गरिएको भन्दै पुनः वर्गीकरण गर्न माग गरेको हो ।
ती शाखाले पत्रकार आचारसंहिता जागरणका नाममा प्रेस काउन्सिलभित्र गरिने खर्च र त्यसले प्राप्त गरेको उपलब्धि तथा प्रतिफलको वैज्ञानिक अनुसन्धान गरी त्यसको बिल तथा सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
उत्तेजना र आवेग त्यागेर शालिन ढंगले सीमा समस्या निरुपण गर्नुपर्छ : प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् ।
‘हामी कुनै देशको समर्थक नबनौं, नेपाललाई केन्द्रमा राखौं । मुलुकको स्वाधीनता र राष्ट्रियताको जगेर्ना नेपालीको प्राथमिकता हुनुपर्छ,’ उनले भने ।
नेपाल–चीन मिडिया फोरमले गरेको ‘नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यशालामा उनले नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिए । सन्तुलित सम्बन्धलाई नेपालको विकासका निम्ति उपयोग गर्नुपर्ने उनको कथन थियो ।
भरतपुरको हवाई सेवा १० दिन रोकिने
नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ ।
मंसिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् ।
धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ ।
ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयले आफूहरूलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो ।
प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो ।
रुसी राष्ट्रपति पुटिनलाई निम्तो दिएर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिए ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गरेका थिए ।
दैलेखमा फोर्स माइक्रो बस दुर्घटना, ३ को मृत्यु, १३ जना घाइते
सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी (माइक्रो बस) दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
बुलबुले यातायात लेखिएको भे१ज १०२९ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ गाईबान्नानजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी २ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि ओलीले लोकान्तरलाई जानकारी दिए ।
साग खेलकुद उद्घाटन र समापनका दिन जोरबिजोर प्रणाली, कुन–कुन गाडीलाई लागू हुने ?
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तेह्रौं संस्करणको उद्घाटन र समापनका दिन सवारी चापलाई व्यवस्थापन गर्न जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग उद्घाटनको दिन मंसिर १५ र समापनको दिन मंसिर २४ गते जोरबिजोर प्रणाली लागू गर्ने भएको हो ।
अन्तिममा बिजोर नम्बर भएका सवारी साधनहरूले १५ गते चल्न पाउने छन् भने अन्तिममा जोर नम्बर भएका सवारी साधनले २४ गते चल्न पाउने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकास्थित चक्रपथभित्र १५ गते जोर र २४ गते बिजोर नम्बरका सवारी साधनहरू सञ्चालनमा निषेध गरिएको छ ।
चिकित्सकहरूले भने– प्रधानमन्त्री खतरामुक्त, ७ दिनमा डिस्चार्ज !
एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ दिनसम्ममा डिस्चार्ज गर्न सकिने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन् ।
शुक्रवार अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले भने– '७ दिनभित्र उहाँलाई पठाउन सकिन्छ कि भन्ने छ । १० दिनभित्र नियमित काम गर्न सक्नुहुन्छ भन्ने विश्वास लिएका छौं ।'
प्रधानमन्त्री ओली खतरामुक्त रहेको उनकी निजी चिकित्सक डा. दिव्यासिंहले बताइन् ।
प्रधानमन्त्री ओली पूर्ण खतरामुक्त हुनुभएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्– 'पूर्ण खतरामुक्त केलाई भन्ने, तपाईंहामी पनि पूर्ण खतरामुक्त छैनौं । उहाँको अहिलेको अवस्था खतरामुक्त हो, भविष्यको कुरा समयले नै बताउँछ ।'
प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा सुधार आएको चिकित्सकहरूले बताए ।
'हामीले सोचेकोभन्दा एकदमै राम्रो सुधार, उहाँको आत्मविश्वासले पनि होला,' चिकित्सकहरूले भने ।
सुदूरपश्चिमका हिमाली भेगमा हिमपात
जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरू भएसँगै जिल्लामा चिसो बढेको छ ।
हिमपात बिहीवार साँझदेखि शुरू भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।
असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए ।