१२ साउन २०८३, मंगलबार
उद्यम

परिश्रमी पौड्याल : ८ लाख अलैंचीको बेर्ना तयारसँगै लाखौंको छुर्पी उत्पादन

मंसिर १४, २०७६
परिश्रमी पौड्याल : ८ लाख अलैंचीको बेर्ना तयारसँगै लाखौंको छुर्पी उत्पादन

सुर्खेत- पछिल्लो समयमा स्नातक, स्नातकोत्तर वा शिक्षित युवा जनशक्ति विदेशिने क्रम बढेको छ । कर्णालीका अधिकांश युवा भारत तथा खाडी मुलुकमा श्रम बिक्री गरिरहेका छन् । काम गर्ने भन्दै हरेक वर्षको ६ महिना भारतका विभिन्न शहरमा ज्याला मजदुरी गर्ने कर्णालकिा युवाको संख्या लाखौं छ ।

तर दैलेखका मोहन पौड्याल स्नातकोत्तर सकेर पनि कृषि पेशामा आबद्ध छन् र सबैको प्रेरणा बन्न पुगेका छन् । उनले अहिले अलैंचीको बेर्ना तयार पार्नुका साथै छुर्पी उत्पादन गरिरहेका छन् ।

दैलेख जिल्लाको भैरवी गाउँपालिका–७ मान्म निवासी मोहन पौड्याल अहिले ३५ वर्षका भए । २०६५ सालमा ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका पौड्याल हालसम्म विभिन्न गैरसरकारी संस्थाको परियोजनामा काम गरिसकेका छन् । उनी अहिले दैलेखकै गुराँस गाउँपालिकाको रोजगार संयोजक पदमा समेत कार्यरत छन् ।

उनको गाउँमा ५० घरधुरी छन् । अहिले गाउँका प्राय:ले अलैंचीमार्फत मनग्ये आम्दानी गर्दै आइरहेका छन् । समाजमा कुनै एकजनाको अभियान र अन्यको समर्थनको कारण गाउँ समृद्ध बनेको छ । गाउँमा अहिले कालापहाड अर्थात पैसा कमाउन भारत कोही जाँदैनन् । सम्भावना अनेक बोकेपनि नेतृत्व गर्नेको अभावले गाउँ आयातमुखी थियो तर अहिले निर्यातमुखी बनेको छ ।

‘२०६२ सालमा पौड्याल स्नातक सकेर स्नातकोत्तरको लागि काठमाडौं गएँ । काठमाडौंमा पढाइ खर्च जुटाउनका लागि र केही नयाँ काम गरौं भनेर सुर्खेतमा रहेको चार लाखको घडेरी बेचेर काठमाडौंमा मोजा फ्याक्ट्री खोल्ने विचार गरेँ । चारवटा मेसिन राखेर काम शुरू गरेँ,' उनी भन्छन्, 'आफूले सोचेजस्तो फाइदा पनि हुन सकेन । देशमा जनआन्दोलन चलिरहेको थियो । चाइनिज मोजाहरूले गर्दा पौड्यालले उत्पादन गरको मोजा सस्तोमा उपलब्ध भएर विस्थापित हनु जाने स्थितिमा पुगेँ र मैले त्यो मासिक तीन हजारमा भाडामा दिएर आफूले स्नातकोत्तर पढ्न थालेँ ।’

विभिन्न सरकारी तथा गैरसरकारी निकायमा काम गरेर अनुभव लिइरहेका पौड्याललाई जागिरको आम्दानीबाट मात्रै जीवन यापन गर्न सजिलो लागेन । ‘दैलेख जिल्ला सदरमुकाममा रहँदा इन्टरनेटको पहुँच सहज भएकाले कृषि सम्बन्धी खोज र विभिन्न नयाँ-नयाँ व्यक्तिहरूको सम्पर्क भयो । त्यसपछि २०७२ सालमा इलामको कृषकसँग भेटेर सल्लाह सझुाव लिएर अलैची नर्सरी करीब डेढ लाखको लगानीमा शुरू गरेँ ।’

सानो लगानीबाट व्यवसाय शुरू गरेका उनले अहिले साढे दुई क्विन्टलभन्दा बढी अलैंची गाउँबाट बिक्री गरिसकेका छन् । उनको नर्सरीमा अहिले करीब आठ लाखभन्दा बढी अलैंचीका बिरुवा तयार छन् ।

 गाउँमा अलैँची उआफूले मात्रै लगाएका छैनन् । गाउकाँ प्राय:को बारीमा अलैंची छन् । भर्खरै मात्र गाउँबाट १५ लाख रुपैयाँ बराबरको बिरुवा निर्यात भइसककेको छ । 

उनले विसं २०७४ सालदेखि सहयात्रा परियोजनामा काम गर्न थाले । त्यसयता उनले केही नगर्ने र किसानले गरेनन् भन्ने धारणा भएकाहरूबाट विकल्प खोज्न शिक्षित युवा लाग्नुपर्ने देखे ।

'जागिर गर्नेबाट पनि केही नमुना काम गरिदिउँ, अरूलाई पनि हौसला हुन्छ भन्ने सोचेर आफ्नै ठाउँबाट विभिन्न कार्य शुरू गर्ने सोच गरेँ,’ उनले सुनाए ।

छुर्पी उत्पादन गर्ने सोचबाट व्यवसाय शुरू गरेका पौड्यालले इलाममा दुई जनालाई यस विषयमा तालिम लिन पठाए । मेसिन खरीद गरे । इलामकै एकजना दक्ष व्यक्तिलाई दुई महिनाको लागि करीब ५० हजार रकम दिएर बोलाए । छुर्पी कसरी बनाउने भन्ने अनुसन्धानकै लागि उनले करीब एक लाख रकम खर्च गरे । छुर्पीको बजार पठाउने ठाउँमा पठाउन नसकेर चार महिनामा झण्डै १२ क्विन्टल गोदाममा थन्किन पुग्यो ।

‘आफ्नो जागिरको तलब बुझेर किसानलाई दूधको पैसा दिन बाध्य भएँ । तलबले पनि किसानलाई दिने दूधको पैसा पुर्‍याउन हम्मेहम्मे हुन थाल्यो । ऋण गरेर पनि किसानलाई भने दूध खरीद गरेको पैसा दिएँ,’ उनी भन्छन्, ‘त्यो छुर्पीलाई स्थानीय बजारमा पनि पुर्‍याउने निधो गरेँ । शुरूमा आफ्नो जागिर सँगसँगै १० किलो छुर्पी लिएर दैलेख सदरमुकामका पसलमा जान थालेँ । पहिले पहिले त्यसबारे बुझाउन र बिक्री गर्न गाह्रो पर्‍यो । दिउँसो जागिर गर्ने र साझँ बिहान छुर्पी बेच्न निस्किन्थें म ।’

 

विस्तारै स्थानीय बजारमा उनको छुर्पी बिक्री हुन थाल्यो । विस्तारै होलसेल पनि बिक्री हुन थाल्यो र विस्तारै सुर्खेत पनि पठाउन थाले उनले । विस्तारै चार महिनामा बेचेर सके । ‘गतवर्ष नै २१ लाख रकम किसानलाई दूधको भुक्तानी दिएँ । अहिले दूधको मात्रा पनि बढाएको छु । नजिकैको गाउबाँट घोडामा दूध खरीद गरेर ल्याउने गरेको छु ।’ तीन जनालाई रोजगार दिएका पौड्यालको उद्योगमा प्रतिदिन ४०० लिटर दूध खपत हुन्छ । उनको उद्योगमा हजार लिटर दूध खपत गर्नसक्ने क्षमता छ । तर पर्याप्त मात्रामा दूध उपलब्ध नहुँदा समस्या छ ।

उद्योगपति भनेर हौसला दिएकै कारण आफू अहिलेको स्थानमा आइपुग्न सकेको उनको बुझाइ छ । ‘सधैंभरी अरूको सामान बेच्नुभन्दा आफूले उत्पादन गरेको सामान बेच्नुमा मलाई गर्व लाग्छ,’ उनी भन्छन्, ‘सरकारले पनि शुरू नै नगरेकालाई अनुदान दिनुभन्दा शुरू गरेकालाई सहयोग गर्नुपर्छ ।'

प्रत्येक घरमा अधिकृत स्तरको कर्मचारी बराबर मासिक ४० हजार कमाइ गरुन् भन्ने आफ्नो चाहना रहेको उनको भनाई थियो ।

त्यसका लागि सरकारले किसानलाई अनुदान देओस् भन्ने चाहन्छन् । उनले विस्तारै गाउँलाई ‘एग्रो टुरिजम’को रूपमा विकास गर्ने सपना देखेका छन् । सबै किसिमका विरुवाको नर्सरी स्थापना गर्ने योजना राखेका छन् । किवी रोपनी गर्ने योजना छ । ‘उत्तीसको मुडाबाट च्याऊ खेतीको विकास गर्ने, बोयर बाख्रा, माछापालन जस्तो व्यवसाय गर्न सकिन्छ,’ उनी भन्छन्, ‘व्यवसायमा चुनौती देखेर भाग्नु हुँदैन । जसले कमाइ गर्छ, उसले उद्योग खोल्नपुर्ने उनको भनाइ छ ।'

गरे के हुन्न र भन्ने मानसिकता बोकेका पौड्याल उदाहरणीय व्यक्ति त हुन् नै प्रशंसायोग्य व्यक्ति पनि हुन् । जिल्ला कृषि विकास कार्यालयबाट पुरस्कृतसमेत भइसकेका पौडेलको एक मात्र लक्ष्य छ, आफू बसेको गाउँलाई कृषि पेशामा अब्बल बनाउने र यहाँका युवालाई बाहिर जान नदिने मात्रै ।

 

salt training

कमेन्ट गर्नुहोस्