
काठमाडौं, २७ चैत –राष्ट्रिय गौरवको नलसिंह गाड जलविद्युत आयोजना बन्न नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै लागिपरेको आयोजना प्रमुख मोती बहादुर कुँवरले आरोप लगाएका छन् ।
यही चैत २० गते आयोजना अघि बढाउने क्रममा निर्णय प्रक्रियामा झण्डै २७ करोड रुपैयाँ भ्रष्टाचार गर्ने प्रयास गरिएको भन्दै अख्तियारले आयोजना प्रमुख कुँवरसहित ६ जनाविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्सदाता छनोटका क्रममा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा व्यापक भ्रष्टाचार गरिएको भन्दै अख्तियारले निर्णय प्रक्रियामा सम्वद्व आधा दर्जन अधिकारीविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतमा मुद्दा दायर भएसँगै एक विज्ञप्ती जारी गर्दै आयोजना प्रमुख कुँवरले अख्तियारले अन्यायपूर्ण र षडयन्त्रपूर्वक अदालतमा मुद्दा दायर गरेको आरोप लगाएका छन् ।
‘उत्कृष्ट प्रगति हासिल गरेको राष्ट्रिय गौरवको आयोजनालाई हस्तक्षेप गर्नु राष्ट्रकै लागि दूर्भाग्य हो,’ आयोजना प्रमुख कुँवरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अदालतमा मुद्दा दायर हुनु आयोजनालाई बेची खाने जल माफियाहरूको ठूलो ‘गेम प्लान’ भएको उनको आरोप छ ।
नेपाल सरकारको प्रचलित ऐन, नियम अनुसार नै निष्पक्ष तरिकाले परामर्शदाताको मूल्याङ्कन भएको विज्ञप्तीमा जनाइएको छ ।
संयुक्त आर्थिक र प्राविधिक प्रस्तावमा उच्चतम अंक प्राप्त गर्ने परामर्शदातासँग नियम अनुसार नै सम्झौता भएको कुँवरको दावी छ ।
केही समयअघि आयोजना विकास समितिलाई विघटन गर्न मन्त्रीपरिषद्मा पस्ताव पेस भएको र उक्त प्रस्ताव पास हुन नसकेपछि उर्जा मन्त्रालय, व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति र अख्तियारलाई नै दुरुपयोग गरिएको आयोजना प्रमुख कुँवरको आरोप छ ।