२७ जेठ २०८३, बुधबार

म विवाह विरोधी त होइन, तर बिहे नै भइदिएनः दीपाश्री

कात्तिक २०, २०७४
म विवाह विरोधी त होइन, तर बिहे नै भइदिएनः दीपाश्री
हास्य टेलिसिरियल ‘तीतो सत्य’ मार्फत स्थापित नायिका दीपाश्री निरौला पछिल्लो समयमा सय दिन मनाउने दुर्लभ सफलता हासिल गरेको सफल चलचित्र ‘छक्का पञ्जा’को निर्देशनबाटै सफल निर्देशकको रूपमा उदाइन् ।

‘छक्का पञ्जा’मा निर्देशकको भूमिकामा सफल निरौला सिनेप्रेमी दर्शकको मनमा समेत छाएकी छिन् । धन कमाउन विदेश जानुपर्ने बाध्यात्मक परिस्थितिलाई कथावस्तु बनाइएको चलचित्र ‘छक्का पञ्जा’ले बक्स अफिसमा सबैभन्दा धेरै कमाएर रेकर्ड नै राख्यो ।

चलचित्रको सफलतापछि अन्य चलचित्रबाट समेत निर्देशनको प्रस्ताव आएपनि समूहमा काम गर्नका लागि अरू चलचित्र अस्वीकार गरेको बताउने दीपाश्री निरौलासँग लोकान्तरका लागि अर्घेलो थापाले सोमवार कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको संक्षेपः

पहिलोपटक निर्देशनको अनुभव कस्तो रह्यो ?

वास्तवमा मेरो यो पहिलो निर्देशन होइन । ठूलो पर्दाको लागि पहिलो भएपनि मैले सानो पर्दामा २० वर्षदेखि सिकिरहेको काम हो । धेरै टेलिसिरियलमा मैले सहायक निर्देशन भएर काम गरेकी थिएँ । ‘तितो सत्य’मा पनि मैले सहायक निर्देशकका रूपमा काम गरेकी छु । ठूलो चलचित्रको अनुभव भने मैले यस चलचित्रबाट लिएकी हुँ ।

चलचित्र ‘छक्का पञ्जा’ले एक सय दिन मनाउला भन्ने लागेको थियो ?

कहाँबाट सोच्नु ? (लामो हाँसो हाँस्दै) चलचित्र कस्तो चल्छ भन्ने त पहिल्यै थाहा हुँदैन नि । पहिलेका चलचित्र ‘वडा नं. ६’ र ‘६ एकान ६’ को सफलताले हास्य विधाको चलचित्र चल्छ भन्ने चाहिँ लागेको थियो । व्यावसायिक रूपमा हास्यप्रधान चलचित्र बनाउन सकिन्छ भनेर ‘तितो सत्य’ निर्माण गर्दा नै अनुभव चाहिँ गरिसकेका थियौं ।

त्यसो भए नेपाली चलचित्र जगतमा आँसु बिक्न छाडेको हो ?

त्यसो होइन । ‘नाइँ नभन्नु ल...’ जस्ता चलचित्र पनि नेपाली दर्शकले रुचाएका छन् । ‘पशुपतिप्रसाद’ र ‘लूट’जस्ता फरक धारका चलचित्र पनि सफल भएका छन् । अहिले भने हाँसो बिक्रीमा छ भन्ने कुरा हामीले ‘छक्का पञ्जा’ले १०० दिन मनाएको आधारमा पनि आँकलन गर्न सक्छौं ।

अहिले यो चलचित्रको व्यापार कस्तो छ ?

अहिले पनि यसको ८० प्रतिशत ‘अकुपेन्सी’ छ ।

‘छक्का पञ्जा’ले १६ करोडको व्यापार गर्‍यो भन्नुभयो, अब के गर्ने योजना छ ?

हामीेले नयाँ फिल्मका लागि योजना बनाइरहेका छौं । एक दुईवटा स्क्रिप्टबाट पनि आएका छन् । चित्त बुझ्यो भने काम थाल्छौं ।

अन्य फिल्मकर्मीले प्रस्ताव गरेको फिल्मलाई तपार्इंले ठाडै अस्वीकार गर्नुभयो रे नि ?

अन्य चलचित्रकर्मीबाट पनि प्रस्ताव आएको हो । टिमले नयाँ चलचित्र निर्माण गर्ने योजना बनाएकोले नै अन्य फिल्मलाई स्वीकार गर्न नसकिएको हो । दीपकजी लगायत अन्य कलाकारबीच ट्युनिङ मिलिरहेकाले पनि मलाई काम गर्न सहज भएको छ । भविष्यमा भने अन्य फिल्ममा पनि काम गर्ने योजना छ ।

अरू चलचित्र निर्देशन गर्नुभयो भने यस्तै हिट हुन्छन् भन्ने लाग्छ ?

चलचित्र राम्रो बन्नका लागि विषयवस्तु चाहिन्छ । कमेडी चलचित्र राम्रो बनाउन सकियो भने उत्कृष्ट बन्छ । बनाउन सकिएन भने स्वादहीन बन्छ । अर्को महत्वपूर्ण कु्रा के हो भने ‘टिम वर्क’ विना चलचित्रलाई निर्देशन गरेर मात्र राम्रो बनाउन सकिन्न ।

अभिनय क्षेत्रमा काम गर्न थाल्नुभएको २० औं वर्ष भइसक्यो । नेपाली समाजमा २० वर्षको उमेर पुगेपछि कतिपय युवतीले बिहे नै गर्छन् त ! बिहे नगर्ने ?

म योजना बनाएर हिँड्दिनँ । योजना असफल भयो भने दुःख पाइन्छ भन्ने लाग्छ । मन दुख्दो रैछ । समयसापेक्ष जे हुन्छ, त्यो कुरालाई स्वीकार्दै अगाडि बढ्न रुचाउँछु । भावुक चरित्रबाट अभिनयमा छिरेपछि आफूलाई हास्य कलाकारका रूपमा चिनाएकी छु । योजना त मेरो हास्य कलाकार बन्ने पनि त थिएन नि ।

अब त बिहेको योजना पनि होला नि ?

बिहे भन्नु समयको बहाव हो । बिहे त आखिर गर्नु नै पर्छ तर लेखेको के हुन्छ, त्यही अनुसार हुन्छ । बिहेबारे मैले आजभन्दा १० वर्ष अगाडि नै सोचेकी थिएँ । सोचेको सबै पूरा नहुने रहेछ । राजेश (हमाल) दाइलाई हेरेर चित्त बुझाउँछु । उहाँको पनि ढिला बिहे भयो, मेरो पनि ढिला नै होला ।

एकातिर व्यावसायिक जिन्दगीमा सफल भइरहनुभएको छ, व्यावसायिक जिन्दगीले तपार्इंको व्यक्तिगत जिन्दगीलाई ओझेलमा पारेजस्तो भएन र ?

म दुःखी भएको भए पो ओझेलमा पारेको भन्न मिल्थ्यो । म खुशी छु नि त । विवाह भन्ने कुरा लेखेर नहुने रैछ । म विवाहको विरोधी त होइन तर बिहे नै भइदिएन त म के गरौं ?

किन बिहे भएन त ?

मैले आफ्नो करियरलाई मात्रै महत्व दिएँ । अरू कलाकारको स्थिति देखेर बिहेपछि आफ्नो करियर ओझेलमा पर्ला कि भनेर शुरुमा बिहे गर्नुपर्छ भन्न लागेन । अहिले भने महसूस भइरहेको छ । अब बिहे पनि होला नि ।

बिहेका लागि माग्न त आउँछन् नि है ?
अहिले त माग्न आउनै छोडे । (हाँस्दै) यो काम, काम भनेर पछि लाग्छे, के माग्नु यसलाई भनेर माग्न छोडे कि भन्ने लाग्न थाल्यो ।

अरू विधाका तुलनामा निर्देशन गर्न गाह्रो रहेछ ?

निर्देशन आफैमा गाह्रो काम हो । निर्माताको विश्वास र जिम्मेवारी पनि बढी हुन्छ तर मलाई ‘छक्का पञ्जा’ निर्देशन गर्न त्यति गाह्रो भएन किनकि मैले टिमबाट राम्रो साथ पाएँ । हास्य विधा भएकोले पनि यो चलचित्र निर्देशन गर्न मलाई सजिलो भयो ।

आम दर्शकले दीपक र दीपाको साँच्चिकै बिहे भएको छ भन्ने पनि सोच्छन् नि ?

दर्शकले सोच्नु स्वाभाविक हो । लामो समयदेखि नै दीपकजी र म जोडी भएर हिँडिरहेका छौं । हाम्रो समाजमा दुई दिन साथै हिँडे त मान्छेले कुरा काट्न थाल्छन् भने हामी त लामो समयदेखि सँगै छौं । हामीबीच माया नभएको होइन, धेरै नै माया छ किनकि दुवैले कामलाई महत्व दिन्छौं । हामीमा माया त छ, तर बीचमा एउटा तगारो के छ भने दीपकजीको बिहे भइसकेको छ । (लामो हाँसो)

बहुविवाह गर्न मिल्दैन है ?
बिहे गर्‍यो भने कानूनले मलाई छोड्ला र ? वास्तवमा बिहे मात्र साइनो हुँदैन । बिहेभन्दा माथिको पनि साइनो हुन्छ । असल साथी भएर पनि त बाँच्न सकिन्छ नि ।

यत्रो लामो जीवनकालमा प्रेम त गर्नुभयो होला नि ?

प्रेम नै नगरेको त कहाँ हो र ? सोह्र वर्षकै उमेरमा प्रेम भयो । त्यो बेलाको प्रेम यसै छुट्यो । अझैपनि उहाँसँग कहिलेकाहीँ कुरा हुन्छ । उहाँले आफ्नो जिन्दगी बाँच्नुभएको छ । जे होस्, रमाइलो लाग्छ ।

भविष्यका योजना ?

नेपाली नारीले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ले १०० दिन मनाएको यो पहिलो हो । कतै कार्यक्रममा जाँदा पनि ‘ओहो ! तिमीले राम्रो गर्‍यौ’ भन्दा खुशी लाग्छ । नेपालमा चिनिने चलचित्र बनायौं भने अब विश्वमा चिनिने फिल्म बनाउने योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्