
बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ।
यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त वाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको हो
जमानत जोगाउनका लागि सदर मतको १० प्रतिशत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ। कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो जसमध्ये २० हजार ९७१ मत सदर भएको छ। उपनिर्वाचनमा ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए।
जमानत जफत भएका आठै जनाकोभन्दा बदर मत बढी देखिएको छ । उपनिर्वाचनमा कूल सदर मतको जमानत जोगाउन कम्तीमा दुई हजार ९८ मत ल्याउनुपर्ने थियो । तर आठ उम्मेदवारमध्ये एक जनाले मात्र सय कटाएका छन् । अरु सबै दोहोरो अङ्कमा सीमित भएका छन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । बागलुङ–२ (ख) मा प्राप्त मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका उम्मेदवार अशोककुमार विकले जम्मा ३१६ मत प्राप्त गरेका थिए।
नेकपाबाट बागी उठेर अन्ततः सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई जिताउन लागेका शेरमान घर्तीले ९५ मत प्राप्त गरे। मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका थिए। जमानत जोगाएका विजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत मात्र प्राप्त गरेका थिए।