२१ जेठ २०८३, बिहीबार
साग खेलकुद

भुटानविरुद्ध नेपालको शानदार जीत, लामो समयपछि लयमा फर्किए कप्तान मल्ल

मंसिर १९, २०७६
भुटानविरुद्ध नेपालको शानदार जीत, लामो समयपछि लयमा फर्किए कप्तान मल्ल
फाइल फोटो

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध शानदार जीत दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १४१ रनले विजयी भयो ।

नेपालले पेश गरेको २३७ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो ।

उसका लागि रानजंग दोर्जीले सर्वाधिक २७ रन जोडे । यसक्रममा उनले ४ वटा त छक्का नै प्रहार गरेका थिए ।

भुटानलाई लक्ष्यसम्म पुग्नबाट रोक्ने क्रममा पूर्वकप्तान पारस खड्काले २ तथा करन केसी, पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २३६ रन जोड्यो ।

नेपाललाई विशाल योगफलतर्फ अघि बढाउने क्रममा लामो समययता फर्ममा नरहेका कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेले ।

५३ बलको सामना गरेका ज्ञानेन्द्रले ८ छक्का र ५ चौकाको मद्दतमा १ सय रनको योगफल पूरा गरे ।

शतक पूरा गरेलगत्तैको बलमा छक्का प्रहार गरेका मल्ल अर्को बलमा आउट भए । ५५ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा १ सय ७ रनको योगफल उनले जोडे ।

यसअघि पूर्वकप्तान पारस खड्का २८ बलमा ५७ रन जोडेर आउट भएका थिए । पारसले ९ चौका र १ छक्का प्रहार गरे । 

रोहितकुमार पौडेल ६ रन जोडेर आउट भएको पारीमा दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रनको अविजित पारी खेले ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्